स्टेकहोल्डरले मात्र महासंघको सफल नेतृत्व गर्न सक्छ : वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल

काठमाडौं । वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले महासंघको छवि सुधार्न वास्तविक उद्योगी, व्यवसायी तथा स्टेकहोल्डर नै नेतृत्वमा आउनुपर्ने बताएका छन् ।

यस अघिको महासंघको कार्यसमितिमा उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित ढकालले देशभरिका उद्योगी व्यवसायीहरुले नेतृत्व छनोटका लागि अहिले गर्ने निर्णयले नेपालको समग्र निजी क्षेत्र र महासंघको उज्वल भविष्य निर्माणमा सहयोग गर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा तथा निर्वाचनमा यही मंसिर ११, १२ र १३ गते हुन गइरहेको छ । आसन्न निर्वाचनमा ढकाल वरिष्ठ उपाध्यक्ष पदको प्रत्यासी हुन् ।

जिल्ला नगरबाट साधारणसभा तथा निर्वाचनमा सहभागी हुन काठमाडौं आइपुगेका व्यवसायीहरुसँगको भेटघाटका क्रममा ढकालले महासंघलाई सबै उद्योगी, व्यवसायीमात्रै नभएर पेशागत लगानीकर्ताहरूको साझा संस्था बनाउन महासंघको नेतृत्व वास्तविक स्टेकहोल्डरले लिनुपर्ने बताए ।

नयाँ नेतृत्वले जिल्ला नगरका समस्याका साथै निजी क्षेत्रका समस्या नजिकबाट बुझोस् र समस्याको सम्बोधन गर्नसक्ने होस् भन्ने आम मतदाताको अपेक्षा रहेकोमा आफू र आफ्नो टिम त्यसप्रति पूर्ण प्रतिबद्ध रहेको ढकालको भनाइ थियो ।

जिल्ला–नगर उद्योग वाणिज्य संघ, एसोसिएट, वस्तुगत, द्विराष्ट्रिय संघका मतदाताहरूको माग नै वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल भएकाले आफ्नो जित सुनिश्चित भएको ढकालले बताए  । उनले आफू सबै उद्योगी व्यवसायीहरुको आशा र भरोसाको संवाहक बनेर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

आफ्नो प्यानलका दुई उमेद्वारहरु चुनाव अघि नै निर्विरोध निर्वाचित भइसकेको जानकारी दिदै ढकालले यसबाट प्रारम्भिक अनुमान सहजै लगाउन सकिने बताए  ।

अहिले महासंघमा उमेर र आबद्ध अवधिलाई आधार बनाउदै सक्षम र असक्षमको विषय बनाई बहस भइरहेकोप्रति लक्षित गर्दै ढकालले महासंघमा को कति वर्ष रह्यो भन्दा पनि कसले पदिय जिम्मेवारी कुशलतापूर्वक निर्वाह ग¥यो र आम उद्योगी, व्यवसायीका समस्याप्रति जानकार र समाधानका लागि पहल गर्न सक्ने सक्षम व्यक्ति को हुन सक्छ भन्ने विषयमा समिक्षा गरिनु पर्ने धारणा ब्यक्त गरे ।

उमेरका हिसाबले र महासंघमा बिताएका समय दौरानका हिसाबले आफ्ना प्रतिस्पर्धिप्रति आफूले सदैव सम्मान गर्ने बताउदै ढकालले आफू नयाँ, समावेशी र सक्षम युवा टिम लिएर निजी क्षेत्र हाँक्ने भिजनका साथ हिँडेकाले आफू र आफ्नो टीमलाई सहयोग गर्न आव्हान गरे ।

प्रचार गरिएजस्तो धेरै पूर्वअध्यक्षहरूले अर्को पक्षलाई समर्थन गरिरहेको कुरामा असहमत हुदै ढकालले पूर्वअध्यक्षहरूसँग आफू नियमित सम्पर्कमा रहेको र पूर्वअध्यक्षहरुको सहयोग र शुभेच्छा आफूले प्राप्त गरेको ढकालले बताए ।

पूर्वअध्यक्षहरुले कुन समूहलाई समर्थन गर्दै हुनुहुन्छ भन्नेभन्दा पनि पूर्वअध्यक्षहरुको विरासत धान्न सक्ने नेतृत्व क्षमता कसमा छ र अहिलेको अवस्थामा महासंघको सँस्थागत क्षमता अभिवृद्धि गर्दै निजी क्षेत्रको वास्तविक छाता संगठनका रुपमा महासंघलाई अगाडी बढाउनका लागि उपयुक्त व्यक्ति को हुन सक्छ भन्ने विषयमा इमानदारीपूर्वक आत्मसमीक्षा भएमा त्यहाँ अवश्य पनि आफू र आफ्नो टिमको बिकल्प नहुने ढकालको भनाइ थियो ।

प्रतिक्रिया