परीक्षाको पूर्वसन्ध्यामा शिक्षामन्त्रीको अनुरोध- ‘ढुक्क भएर परीक्षा दिनुस्’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ढुक्क भएर कक्षा १२ को परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई अनुरोध गरेका छन् । परीक्षाको पूर्वसन्ध्यामा एक अपिल सार्वजनिक गर्दै मन्त्री पोख्रेलले यही मंसिर ९ गतेदेखि हुने कक्षा १२ को परीक्षामा आवश्यक सम्पूर्ण स्वास्थ्य सुरक्षाको व्यवस्थापन गरिएको हुँदा ढुक्क भएर परीक्षामा सहभागी हुन अनुरोध गरेका हुन् ।

परीक्षा केन्द्रहरुमा भौतिक दूरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुनेजस्ता कोभिड सुरक्षा मापदण्ड कडाइपूर्वक पालना गर्नेलगायतका परीक्षासम्बन्धी आवश्यक सम्पूर्ण पक्षको व्यवस्थापन गरिएको मन्त्री पोखरेलको भनाई छ । घरमा रहँदा होस् या परीक्षा केन्द आउँदा जाँदा आवश्यक सचेतना अपनाउन पनि उनले आग्रह गरे ।

परीक्षा केन्द्रवरपर भीडभाड नगरिदिन अभिभावकहरुलाई आग्रह गर्दै परीक्षाको सिलसिलामा परीक्षार्थीलाई कोभिड संक्रमण भएमा पुनः परीक्षा दिन पाउने आवश्यक मिलाइएको पनि मन्त्री पोखरेलले जानकारी दिएका छन् । कक्षा १२ को परीक्षा भोलिदेखि सुरु हुँदैछ । यस पटकको परीक्षामा होम सेन्टर (आफू रहेको स्थान नजिकको परीक्षा केन्द्र)बाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

यसपटक कूल पूर्णांकमध्ये ४० प्रतिशतको मात्र संक्षिप्त परीक्षा हुने छ । बाँकी ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंकको आधारमा विद्यार्थीहरुले नम्बर पाउने छन् । बाँकी २० प्रतिशत कक्षाकार्य, गृहकार्य, अतिरिक्त क्रियाकलाप, समय–समयमा विद्यालयले लिएको परीक्षासमेतलाई आधार मानेर विद्यालयले आन्तरिक मूल्यांकन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले यो परीक्षा सम्पन्न गर्दैछ ।

यस्तै, परीक्षालाई सुरक्षित तथा व्यवस्थित बनाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्ड र स्वास्थ्य क्षेत्रका विज्ञलाई समेत समेटेर कक्षा १२ को परीक्षा सञ्चालनसम्बन्धी कार्यविधि २०७७ जारी गरिएकाले सचेततापूर्वक अग्रपंक्तिमा रहेर पहलकदमी लिन जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया