लालपुर्जा वितरणको तयारी, १४ स्थानीय तहसँग सम्झौता

ध्रुवराज खनाल-

चितवन । भूमि सम्बन्धी समस्या समाधान आयोगले सुकुम्बासीहरुलाई लालपुर्जा वितरणको प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा १४ वटा स्थानीय तहमा लालपुर्जा वितरण गर्दै छ ।

विभिन्न जिल्लाका ९ वटा नगरपालिका र ५ वटा गाउँपालिकामा लालपुर्जा वितरण गर्न लागेको आयोगका सदस्य मन्जली शाक्यले जानकारी दिइन् । वितरण प्रक्रियाका लागि ती स्थानीय तहसँग आयोगले सम्झौता गरेको छ ।

शाक्यका अनुसार चितवनको रत्ननगर नगरपालिका, झापाको कन्काइ नगरपालिका, उदयपुरको बेलका नगरपालिका, सर्लाहीको हरिवन नगरपालिका, सिरहाको धनगढीमाई नगरपालिका, नवलपुरको कावासोती नगरपालिका, सुर्खेतको गुर्भाकोट नगरपालिका, कंचनपुरको कृष्णपुर नगरपालिका र कैलालीको गौरिगंगा नगरपालिकासँग सम्झौता भएको छ ।

यसैगरी मकवानपुरको बागमती गाउँपालिका, कास्कीको रुपा गाउँपालिका, रुपन्देहीको कंचन गाउँपालिका, दाङको बबई गाउँपालीका र चौकुने गाउँपालिकामा लालपुर्जा वितरणका लागि प्रक्रिया अघि बढाउन सम्झौता भएको छ ।

पुर्जा वितरण प्रक्रियामा आयोगले गर्ने काम र स्थानीय तहले गर्ने काम सम्झौतामा उल्लेख गरिएको छ । सोही काम कर्तव्यकै बारे आयोगले सम्बन्धित स्थानीय तहमा पुगेर सरोकारवालासँग छलफल, अन्तरक्रियासमेत सुरु गरेको छ ।

सम्झौता भएका स्थानीय तहमा ६ महिना भित्र लालपुर्जा वितरण गर्ने जनाइएको छ । तिहार अघि भूमि व्यवस्थामन्त्री पद्मा अर्यालको उपस्थितिमा १४ स्थानीय तहसँग आयोगले सम्झौता गरेको थियो । सम्झौता पत्रमा लालपूर्जा वितरण गर्नुपूर्व आयोगले गर्ने काम र जिम्मेवारी र नगरपालिकाले गर्नुपर्ने काम र जिम्मेवारी स्पष्टसँग उल्लेख गरिएको छ ।

छ महिना भित्र आयोगले भूमिहीन दलीत, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको पहिचान, लागत संकलन र प्रमाणीकरण सम्बन्धी मापदण्ड र कार्यविधि उपलब्ध गराउने, कार्यविधि अनुसार फारम भराउने, सुकुमबासीको तथ्याङक प्रविष्ट गर्न प्रणाली उपलब्ध गराउने लगायत ११ वटा बुँदामा जिम्मेवारी तोकिएको छ ।

सम्झौता पत्रमा आयोगका तर्फबाट उपसचिव अन्जन न्यौपाने र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले हस्ताक्षर गरेका छन् । आयोगका अध्यक्ष देवि ज्ञवलीले नगरपालिकाका प्रमुख तथा गाउँपालिका अध्यक्षलाई पत्र हस्तान्तरण गरेका थिए ।

सो नगरपालिकाले ६ महिना भित्र लालपूर्जा वितरण गर्ने गरी आयोगसँग सम्झौता गरेको हो । रत्ननगर नगरपालिकाले करिब एक वर्ष अघि नगरपालिका भित्रका सुकुमवासीहरुको लगात संकलन, उनीहरुको बसोबासीको अवस्था, आर्थिक र सामाजिक पक्ष समेटेर तथ्यांक संकलन गरिसकेको छ ।

सम्झौता गरेका स्थानीय तह मध्य रत्ननगर नगरपालिकामा १ हजार ५५६ घरधुरी सुकुम्बासी छन् । रत्ननगरमा ५६ वटा सुकुमबासी बस्ती रहेका छन् । आयोग र रत्ननगर नगरपालिकाको सहकार्यमा छ महिना भित्र सुकुमबासीको तथ्याङक संकलन र भोगचलन गर्दै आएको जग्गाको नापजाँच गरे लगतै पुर्जा वितरण सुरु हुने मेयर नारायण वनले बताए ।

आयोगका अध्यक्ष देवि ज्ञवालीले लालपुर्जा वितरण अघि जिल्ला, स्थानीय तहमा आयोगको इकाई गठन गरिने बताए ।

प्रतिक्रिया