चन्द्र भर्सेस किशोर, कुन प्रदेशमा कसको पल्लाभारी ?

 

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा शक्तिशाली संस्था नेपाल उद्योग वाणिज्य महासंघ हो । त्यही महासंघको ५४औं साधारण सभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । साधारण सभा तथा निर्वाचनको वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्धय चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।

कोरोनाले थलिएको अर्थतन्त्र उकास्ने, उद्योग धन्दाहरुको सुधार गर्ने, निजी क्षेत्रका समस्या राज्यसँग पुर्याउने तथा देशलाई संमृद्ध बनाउने विषय आफ्ना चुनावी घोषणा पत्रमा अटाएर वरिष्ठ उपाध्यक्षका प्रत्यासीद्वय ढकाल र प्रधानले देश दौडाहा समेत गरिसकेको अवस्थामा यसपटकको निर्वाचनबाट कुन प्यानल विजयी होला सजिलै आंकलन गर्न सक्ने अवस्था देखिएको छैन । ढकाल र प्रधानका एजेण्डा, उनीहरुका पक्ष विपक्षमा उभिएका उद्योगी व्यवसायीहरुको भनाई अनुसार दुवै बलिया प्रतिष्पर्धी हुन् ।

गत वर्षमा नै हुनपर्ने महासंघको साधारण सभा कोरोनाको कारणले पटक–पटक सर्दै आइरहेको थियो । कोरोनाको कारणले भएको बन्दाबन्दी, निषेधाज्ञा र सटडाउनको कारणले निर्वाचन सर्दा दुबै प्यानललाई आ–आफ्नो पक्षमा मत बढाउन समय पनि मिल्यो । ढकाल र प्रधानका पक्षमा उभिएका उद्योगी व्यवसायीहरुको विष्लेशण गर्दा यसपटकको निर्वाचन कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेको छ । महासंघमा अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दैछन् ।

कसरी हुन्छ कार्यसमितीको निर्माण ?

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । महासंघमा ६४ पदका लागि निर्वाचन हुनेछ । ६४ पदमध्ये वरिष्ठ उपाध्यक्ष, जिल्ला तथा नगर, वस्तुगत तथा एशोसिएट्स समूहबाट १÷१ जना समेत गरी विषयगत उपाध्यक्षहरू र बाँकी ६० जना कार्यसमिति सदस्यका रहनेछन् ।

६० जना कार्यसमिति सदस्यहरूमध्ये जिल्ला\नगर तर्फबाट १८ जना, वस्तुगत संघ समूहबाट १४ जना, एशोसिएट्स समूहबाट १९ जना र द्विराष्ट्रिय संघका तर्फबाट १ जना, संस्थापक सदस्यहरूबाट १ जना कार्यसमितिमा रहने छन् ।

त्यस्तै, प्रत्येक प्रदेशको तर्फबाट कार्यसमितिमा प्रतिनिधित्व गर्ने १\१ जना समेत गरी कुल ७ जना रहनेछन् । प्रदेश १ बाट द्विराष्ट्रिय समूहबाट प्रतिनिधित्व गर्ने १\१ जना समेत गरी २ कार्यसमिति सदस्यका लागि एकजनाको मात्रै उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका छन् ।

महासंघमा १ सय ७ वटा उद्योग वाणिज्य संघ, १ सय १ वटा वस्तुगत संघ, ९ सय २३ जना एशोसिएट्स सदस्य तथा संस्थापक तथा द्विराष्ट्रिय संघका तर्फबाट १२÷१२ जना समेत गरी कूल २४ वटा संस्थाका प्रतिनिधिको मताधिकार निश्चित भएको छ । वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षहरुको निर्वाचन प्रयोजनका लागि द्विराष्ट्रिय संघका सदस्यहरुलाई एशोसिएटस् समूह तथा संस्थापक सदस्यलाई जिल्ला, नगर समूहमा अन्तर्गत राख्ने व्यवस्था छ ।

प्रधान प्यानलबाट वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एशोसिएटमा सौरभ ज्योतिले चुनावमा भिड्ने भएका छन् ।

ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसिएटस् उपाध्यक्षमा रामचन्द्र संघाई चुनावी मैदानमा छन् ।

प्रधानले निवर्तमान अध्यक्ष पशुपति मुरारका र आगामी अध्यक्ष शेखर गोल्छाको समर्थन लिएका छन् । २८ वर्षसम्म महासंघमा काम गरेकाले पनि प्रधानले आफ्नो जित सुनिश्चित रहेको दावि गरेका छन् । उनी ग्रास रुटबाट महासंघको केन्द्रमा आएका हुन् ।

उनले साना तथा मझौला उद्योगी व्यवसायीको समस्या बुझेर काम गरेको बताए । प्रधान खासगरी जिल्ला र नगरका उद्योगी व्यवसायीसँग परिचित छन् । प्रधानलाई प्रदेश १, प्रदेश २, बागमती प्रदेशको बलियो साथ रहने अनुमान गरीएको छ । प्रधानलाई एशोसिएट र वस्तुगतबाट पनि भोट आउँछ ।

प्रधानका पक्षमा महासंघको संस्थापन पक्ष समेत रहेकाले उनले उदियमान व्यवसायी ढकाललाई कडा टक्कर दिने अपेक्षा छ । प्रधानलाई भावी अध्यक्ष शेखर गोल्छा, भवानी राणा, पशुपति मुरारकालगायतको साथ छ ।

ढकाललाई ७७ वटा जिल्लामा नै आफ्नो उद्योग र व्यवसाय भएको कारणले उद्योगी व्यवसायीको मत आउने अनुमान गरिएको छ । उनको पक्षमा राम्रो भोट आउने अनुमान छ । त्यसो त, उनलाई गण्डकी र सुदुरपश्चिम प्रदेशका उद्योगी व्यवसायीले पनि समर्थन जनाएका छन् । ढकाललाई वस्तुगत र वाणिज्य क्षेत्रबाट भोट आउने अपेक्षा छ ।

दुबै पक्षले देशको अर्थतन्त्रलाई माथि उकास्ने, उद्योगी, व्यवसायीका समस्या समाधान गर्ने, विदेशी लगानी भित्रयाउने, उद्योगीका नेताहरुको मर्यादा क्रमलगायतका विषयमा काम गर्ने बताइरहेका छन् । महासंघमा चुनावको माहौल तातेको अवस्थामा कुन प्यानलले जित्छ भनेर उद्योगीहरुले आफ्नै तरिकाले आकलन गरिरहेका छन् ।

कुन प्रदेशमा समर्थन कसलाई ?

सुदूरपश्चिम प्रदेशले चन्द्रप्रसाद ढकाल समूहलाई समर्थन गर्ने घोषणा गरिसकेको छ । सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्ला अध्यक्षले एकै स्वरमा भनेका छन्, ‘हामीले डेढ दशकपछि साना, मझौला तथा जिल्लाका उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्ने व्यक्ति पाएका छौं, त्यसले आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधी तिवारीलाई जिताउनुको विकल्प छैन ।’

किशोर प्रधान विराटनगरबाट उद्योग क्षेत्रमा उदाएका उद्योगी हुन् । उनले त्यहाँ विजुलीको पोल निर्माण गर्ने व्यवसाय गरेका थिए । पूर्वमा प्रधानलाई उद्योगीहरुले असल व्यक्तिका रुपमा लिने गरेका छन् । आगामी अध्यक्ष शेखर गोल्छा पनि पूर्वकै हुन्, र उनको समर्थन पनि प्रधानलाई नै रहेको छ । महासंघको प्रदेश नं. १ अध्यक्ष नरेन्द्र खड्का पनि किशोर प्रधानको पक्षमा उभिएका छन् । सुनसरी शाखा यसपटक चन्द्र ढकालको पक्षमा उभिएको छ ।

यता ढकालको पक्षमा पनि पूर्वका केही उद्योगी व्यवसायी देखिएका छन् । ढकाल समूहका उम्मेदवारहरु प्रदेश नं. १ बाट केन्द्रीय सदस्यमा राजेन्द्र राउत निर्विरोध भइसके । हाल प्रदेश नं. १ कमिटीको उपाध्यक्ष रहेका उनले ढकालको पक्षमा भोट मागिरहेका छन् ।

महासंघ प्रदेश नं. २ कमिटीले प्रधान प्यानललाई समर्थन गर्ने भएका छन् । सो प्रदेशका प्रायः सबै प्रधानको पक्षमा रहेका छन् । २ नं. प्रदेशमा ढकाल प्यानलका पक्षमा खासै उद्योगी व्यवसायी छैनन् । २ नं. प्रदेशको जनकपुर, विरगञ्ज, लहान क्षेत्रका अधिकांश मतदाता प्रधानको पक्षमा छन् ।

बागमती प्रदेश महासंघका अध्यक्ष दिनेश श्रेष्ठ आफैँ प्रधानको टिमबाट जिल्ला नगर उपाध्यक्षमा उठेका छन् । श्रेष्ठ नै प्रधानको पक्षबाट उम्मेदवार भएकाले पनि बागमती प्रदेशबाट प्रधानलाई सहज भोट आउने निश्चित छ तर, बागमती प्रदेशमा केही मतदाताहरु विभाजित भएकाले प्रधानको भोट काटिन सक्छ ।

कर्णाली, गण्डकी, लुम्विनी तथा सुदुरपश्चिम प्रदेशबाट चन्द्र प्रसाद ढकाललाई समर्थन छ । महासंघको धेरै प्रदेश कमिटीहरुको मत ढकाल पक्षले पाउने छन् । प्रदेश नं. २ र बागमती प्रदेश वाहेक अरु प्रदेश कमिटीले ढकाल प्यानललाई समर्थन गर्ने भएपछि जिल्ला नगरतर्फ ढकाल समूहले जित हासिल गर्ने पक्का छ । महासंघको गण्डकी प्रदेश कमिटीले ढकाल समूहलाई जिताउन समिति नै बनाएर चुनाव प्रचार–प्रसार गरिरहेको छ ।

लुम्बिनी प्रदेशको समर्थन पनि ढकाल प्यानललाई छ । सो प्रदेशका प्रदेश अध्यक्ष गुणनिधि तिवारी नै ढकालको समूहबाट उपाध्यक्षका उम्मेदवार हुन् ।

यो पटकको निर्वाचनमा सजिलै एउटा पक्षलाई जित्न सक्छ भन्ने अनुमान गर्न सकिने अवस्था छैन । प्रदेश, जिल्ला र नगरको भोट उम्मेद्वारका लागि निर्णायक भएकाले दुई उपाध्यक्षका आकांक्षी यतिबेला ती मतदातालाई आफ्नो पक्षमा पार्न सक्रिय छन् ।

उपाध्यक्षमा जितेपछि अर्को पटक स्वतः अध्यक्ष पाउने भएकाले दुई कार्यकाल महासंघमा रहेर उद्योगी व्यवसायीको नेता बन्ने भएकोले पनि उपाध्यक्षका यी दुई उम्मेद्वारले यो पटकको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

 

प्रतिक्रिया