कर्मचारीलाई नागरिकको सेवकको रुपमा काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीलाई नागरिकको सेवकको रुपमा काम गर्न निर्देशन दिएका छन् । नवौं राष्ट्रिय कर दिवस २०७७ को अवसरमा आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले कर तिर्न सक्ने नागरिकलाई कर तिर्नका लागि अभिप्रेरित गर्न कर्मचारीलाई शासकका रुपमा होइन नागरिकको सेवकको रुपमा काम गर्न निर्देशन दिएका हुन् ।

उनले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंशमा अभिवृद्धि गर्न करका दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको पनि बताए । पौडेलले स्वेच्छिक कर सहभागिता वृद्धि गर्दै परिपालनाका माध्यमबाट समग्र राजस्व परिचालनमा अभिवृद्धि गर्न जरुरी रहेको बताए ।

उनले कर परीक्षण कर, अनुसन्धान, बजार अनुगमन, प्रशासनिक पुनरावलोकन बक्यौता असुली, बेरुजु फछर्यौट जस्ता परिपालनाका विधिलाई कडाइका साथ लागू गर्नसमेत निर्देशन दिएका छन् ।

कर सहभागितामा न्यूनतम लागत, सेवाग्राहीमैत्री व्यवहार, प्रकृयागत सरलीकरण, प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्न साथै करदाताको कर प्रशासनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र करको दायरा तथा पहुँच बिस्तारमा परिणाम देखिने गरी सुधार गर्न आन्तरिक राजस्व विभाग र मातहतका सबै राजस्व कार्यालयलाई अर्थमन्त्री पौडेलले निर्देशन दिएका हुन् ।

अर्थमन्त्री पौडेलले कर प्रशासनमा सुशासन, सदाचार र भ्रष्टाचारप्रतिको शून्य सहनशीलताको नीतिलाई पालन गर्न निर्देशन दिएका छन् ।

उनले आन्तरिक राजस्व विभागको चालु आर्थिक वर्षका लागि तय गरेको कार्यमूलक सूचकमा तोकिएको लक्ष्य हासिल गर्न र आर्थिक ऐन २०७७ मार्फत ल्याइएका विभिन्न योजना तथा सुधारका कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया