काठमाडौं महानगरको स्वाब संकलन मोबाइल भ्यान सञ्चालनमा

काठमाडौं । काठमाडौं महानगरले आजबाट स्वाब संकलनका लागि मोबाइल भ्यान सञ्चालनमा ल्याएको छ । महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण गरेपछि भ्यान सञ्चालनमा आएको हो ।
राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानका सचिव डा. महेशकुमार अधिकारीले महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई भ्यान हस्तान्तरण गरेका हुन् । कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई अझ बढी प्रभावकारी बनाउन मोवाइल भ्यानमार्फत् स्वाब संकलन सुरु गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको वैज्ञानिक तथा प्राविधिक अनुसन्धान केन्द्रबाट डिजाइन तथा परीक्षण गरी तयारी अवस्थामा रहेको मोवाइल स्वाब कलेक्सन बुथ हस्तान्तरण कार्यक्रमपछि सम्बाेधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले लकडाउनको सुरु अवधिदेखि नै कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई प्रभावकारी बनाउन लागिरहेको बताए । महानगरपालिकासँग उपलब्ध सीमित जनशक्तिबाट पनि प्रभावकारी काम अघि बढाइएको बताउँदै उनले गरिरहेका कामलाई अझ प्रभावकारी बनाउन नास्टको प्राविधिक सहयोगमा निर्माण भएको मोवाइल भ्यानमार्फत् स्वाब संकलनको काम शुरुवात गरिएको बताए ।
‘यो भ्यानमार्फत् अशक्त, अपाङ्गता भएका, दीर्घ रोगी र जेष्ठ नागरिक जो विभिन्न कारणले चाहेर पनि घर बाहिर निस्केर त्यस्ता व्यक्तिका लागि बढी प्रभावकारी हुनेछ’, मेयर शाक्यको भनाइ थियो । त्यस्ता व्यक्तिको स्वाब संकलनमा विशेष प्राथमिकतामा राखेर कार्य अघि बढाइने उनले जानकारी दिए । शाक्यले भने, ‘कोरोनालाई कमजोर ठानेर लापर्वाह नगराैँ । सरकारको तर्फबाट हामी लागिरहेका छौँ । स्थानीय व्यक्ति र समूदाय पनि हातेमालो गरेर अघि नबढ्ने हो भने यसलाई नियन्त्रण गर्न सकिन्नँ ।’
सरकारले गरिहाल्छ भनेर सर्वसाधारणले हेलचेक्र्याईँ गर्ने हो भने महामारी नियन्त्रण भन्दा बाहिर जान सक्ने उनकाे भनाइ छ । उनका अनुसार नेपाल सरकारले तोकेको मापदण्डभित्र रहेका नागरिक र कन्ट्याक्ट ट्रेसिङमा परेका शंकास्पद व्यक्तिलाई नि:शुल्क परीक्षण गर्न महानगरपालिका तयार छ । लक्षित वर्गलाई उपचारबाट बञ्चित नगराउने हाम्रो अभियानलाई साथ दिएर सकेसम्म असहाय, विपन्न र जेष्ठ नागरिकलाई प्राथमिकता दिन र सक्नेले आफैँ परिक्षण गर्न पनि उनले अनुरोध गरेका छन् ।
यो वुथ निर्माण गर्न ३ लाख २० हजार ६ सय रुपैयाँ उपलब्ध गराएको हो । यसको प्राविधिक पक्षको विकास र जडान नास्टले गरेको हो । सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार भोलिबाट वडा स्तरीय सेवाका लागि भ्यान परिचालन हुनेछ । आज सभा गृहबाटै प्रशासन विभागका प्रमुख महेश काफ्ले, वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ लगायत अधिकारीहरुको स्वाब संकलन गरियो ।








