हात्ति आतंक रोक्न त्रियुगा नगरपालिकासँग योजना छैन

उदयपुर । १ नं. प्रदेशको उदयपुर जिल्ला त्रियुगा नगरपालिकाका केही वडाका बासीहरु वर्षेनी जंगली हात्तिको आतंकबाट पिडीत भएपनि स्थानीय सरकारले कुनै चासो दिएको छैन ।

उदयपुरको त्रियुगा नगरपालिकासँग जंगली हात्तिको आक्रमणबाट जनधनको क्षती कम गर्ने कुनै कार्यक्रम छैन । स्थानीय सरकारका रुपमा रहेको त्रियुगा नगरपालिकाले वडाबासीहरुलाई सामान्य क्षतीपूर्ति समेत नदिँदा स्थानीय वर्षेनी हात्ति आतंकबाट त्रसित र पिडीत भइरहेका छन् ।

नगरपालिकाको वडा नं.६ र ७ मा गए राती जंगली हात्तिले आतंक मच्चाउंदा घरहरुमा समेत क्षती पुगेको छ । भने, अन्नबाली समेत नष्ट गरेको छ । हात्तिको आक्रमणबाट वडा न.६ का कुल बहादुर घिमिरेको घरको बरण्डा पुर्णरुपमा ध्वस्त बनाएको छ । सोहि वडाका गोपाल राउतको घरलाई समेत क्षतिग्रस्त बनाई धान समेत खाइदिएको छ । त्यसैगरि कमला राउत, घमान सिंह राउत र शिव राउतको धान खाई हात्तिले नष्ट गरेका छन् ।

वडा नम्बर ७ का सम्मर परियारको घरमा समेत क्षति पुर्याई चामल समेत नस्ट गरिदिएकोे हात्ति पिडीत परियारले बताए । ‘यो एक दिनको मात्र दुखः हैन, धान पाक्ने बेला हरेक वर्ष कोशी टप्पूबाट हात्तिहरु आउँछन् ।’ परियारले भने ।

जंगली हात्तिको समुहले आक्रमणले गर्दा बिजुलीको लाइनमा समेत क्षति पुर्याएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षणबाट आएका जंगली हात्तिहरुले वर्षेनी वडा नं. १ देखि ७ नम्बरका स्थानीयलाई दुखः दिने गरेको त्रियुगा नगरपालिकाकी उपमेयर देबीकुमारी चौधरीले बताइन् । तर, उनले हात्ति आतंक न्यूनिकरणको लागि नगरपालिकासँग कुनै योजना नरहेको पनि बताइन् ।

‘जंगलबाट आउने हात्तिलाई कसरी रोकथाम गर्न सकिएला र ? हामीले त्यस्तो कुनै योजना बनाएका छैनौं ।’ चौधरीले मकालु खबरसँग भनीन् ।

नगरपालिकाले केही हात्ति पिडीत जनतालाई राहत दिएको बताउँदै दिर्घकालिन रुपमा हात्तिको आक्रमण रोकथाम गर्न सक्ने अवस्था नै नरहेको जिकिर गरीन् । ‘गत वर्ष केहीलाई थोरै भएपनि राहत दिएका थियौं, यो पल्ट त्यस्तो निवेदन आएको छैन । भर्खर कार्यालय खुलेकोले कुन वडामा कति क्षति पुगेको हो यकिन गर्छौं ।’ चौधरीले भनीन् ।

उनका अनुसार रातीराती हुल बाँधेर आउने हात्तिहरुलाई तर्साउन स्थानीयहरुले चौकचौकमा आगो बालेर बस्ने गरेपनि पछिल्लो दिनहरु हात्ति झनै आक्रमक बन्दै गएको पनि बताइन् । नगरपालिकामा हात्तिकै आक्रमणमा मानिस परेको घटना नभएपनि हात्तिले घर तथा धानबाली भने नष्ट गर्ने गरेको छ ।

तस्विरः हाम्राे उदयपुरबाट

 

प्रतिक्रिया