हालसम्म कोरोना संक्रमणका कारण वीपी प्रतिष्ठानमा १०८ जनाको मृत्यु

धरान । कोरोना संक्रमणका कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १०८ जनाको मृत्यु भएको छ । प्रतिष्ठानले सञ्चालन गरेको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा अहिलेसम्म १०८ जनाको मृत्यु भएको हो ।

प्रतिष्ठानले नियमित मिडिया व्रिफिङका क्रममा हिजोसम्म उक्त संख्यामा कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ । हालसम्म प्रतिष्ठानमा कोभिड–१९ भएर १०९४ जना भर्ना भएका छन् । जसमध्ये ९१८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबमा अहिलेसम्म ६७,८५० कोरोना स्वाब पिसिआर परीक्षण भएकोमा ५९,९५२ केस नेगेटिभ देखिएको छ । जसमध्ये ६,९२३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

गत बैशाखमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट धुमधामपूर्वक कोभिड अस्पताल उद्घाटन गरिएपनि लामो समयसम्म सञ्चालनमा ल्याइएको थिएन ।

पछि कोभिड अस्पताल सञ्चालन गर्न जनस्तरबाटै प्रतिष्ठान व्यवस्थापनलाई चौतर्फी दवाव दिइएपछि साँढे तीन महिनामा सञ्चालनमा आएको थियो ।

संघ र प्रदेश सरकारको साँढे १२ करोड लागतमा प्रतिष्ठानमा एक सय शैय्या सहित १५ आइसीयू बेड, ९ भेन्टिलेटर, प्रयोगशाला, भिडियो एक्सरे, अप्रेशन थिएटर, एक्सरे, १५ शैय्याको हाइ डिपेन्डेन्सी युनिट, अक्सिजन पाइपलाइन र आकस्मिक कक्ष लगायतको कोभिड अस्पताल निर्माण गरिएको थियो ।

प्रतिक्रिया