स्वयम्भू बुद्ध पार्कमा बन्याे अत्याधुनिक शौचालय

काठमाडौं । काठमाडौँ महानगरपालिकाल सबै वडामा सुविधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अघि बढाएको छ । यही योजना अनुरुप काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज विश्व शौचालय दिवस २०२० को अवसर चक्रपथ सडक खण्डको स्वयम्भु बुद्ध पार्क क्षेत्रमा स्वचालित नमूना सार्वजनिक शौचालयको शुभारम्भ गरे ।
४०० वर्ग फिट क्षेत्रफलमा निर्माण भएको सो सौचालयको शुभारम्भ गर्दै प्रमुख शाक्यले सार्वजनिक शौचालयलाई परम्परागत स्वरुपबाट आधुनिक तथा अत्याधुनिक ढाँचामा रुपान्तरण गर्ने र व्यवसायिकताबाट सेवामुलक बनाउँदै लैजाने महानगरको योजना रहेको स्मरण गराए । ‘सार्वजनिक शौचालय भएका ठाउँहरु शौचालयभन्दा अन्य व्यापारिक गतिविधि गर्ने ठाउँ जस्ता देखिए,’ उनले भने, ‘त्यस्ता क्रियाकलापलाई निरुत्साहित गर्दै पहुँचयुक्त सार्वजनिक शौचालयलाई प्रोत्साहित गर्दै लैजाने योजना अनुसार आज यो सौचालयको शुभारम्भ गरेका छौँ ।’

काठमाडौं महानगरले सम्पदा र भीड हुने क्षेत्रलाई प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने नीति अनुरुप काम गरिरहेको पनि उहाँले जानकारी दिए । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय डिजाइन तयार पारेका पार्क र निर्माण भैरहेका पार्कमा पनि सौचालयलाई प्राथमिकतामा राखेको छ भने वडा–वडामा पनि यही नीति अघि बढाएको छ ।
गतवर्ष मंसिर १७ गते बसेको नगर कार्यपालिकाको बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई जिम्मेवारी दिएको थियो । ५५ लाख रुपैयाँ लागतमा निर्माण भएको शौचालयमा वडा १५ ले ५ लाख रुपैयाँ र बाँकी एरोसानकातर्फबाट स्रोत व्यहोरिएको छ ।
शौचालय भवनबाट आकाशे पानी संकलन गर्न १२ हजार लिटरको पानी संकलन ट्याङ्की राखिएको छ । शौचालय महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक सबैका लागि प्रयोग मैत्री छ । शौचालयका सुविधा स्वचालित प्रविधिमा आधारित छन् । शौचालयको विशेषताका बारेमा जानकारी दिँदै एरोसानका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यले भने, ‘शौचालयबाट उत्पादन भएको कुनै पनि फोहोर बाहिर जाँदैन । प्रविधि र वातावरणमैत्री दुवै पक्ष जोडेर यसलाई नमूना बनाइएको हो ।’
शौचालयमा पुरुषका लागि ४ वटा युरिनल र २ वटा शौचालय, २ वटा कोठा रहेको महिला शौचालयमा बच्चालाई प्याड फेराउने ठाउँ, महिनावारी भएका बेला प्याड लिन मिल्ने र प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रबिधिबाट पानी र झोल साबुन आउने प्रबिधि, हात सुकाउने मेसिन (ह्याण्ड ड्रायर) जडान गरिएका छन् । त्यहाँ पर्यटक र अपाङ्गता भएका व्यक्तिका लागि १/१ वटा छुट्टाछुट्टै शौचालय कोठा छन् । स्वचालित भेन्टिलेसन, स्वचालित फ्लस प्यान, सुधारिएको दिसा गर्ने प्यान जडान गरिएका छन् ।
नुहाउनका लागि तातो र चिसो पानी आउने सावर, फोहरपानी प्रशोधन पुनः प्रयोग गर्ने प्रणाली, बायो ग्याँस प्रविधिबाट दिशाजन्य लेदो व्यवस्थापन यसका विशेषता हुन् । शौचालयबाट उत्पादन भएको कम्पोट मल त्यहीँको बगैंचामा प्रयोग हुनेछ ।
बायोग्याँसका लागि १० घन मिटरको प्लान्ट छ । यसबाट मासिक रुपमा १.५ सिलिण्डर बराबर ग्याँस उत्पादन हुने एरोशासनका राष्ट्रिय प्रतिनिधि अमात्यले जानकारी दिए । यसलाई शौचालय पर्यटनको अवधारणाअनुरुप सञ्चालन, व्यवस्थापन र प्रवर्धन गर्न सकिन्छ । अमात्यका अनुसार यसमा विद्यालयका विद्यार्थी र पर्यटकहरुलाई सहभागी गराउने सकिनेछ । यस स्थानबाट दैनिक २ हजार बढी आन्तरिक पर्यटक स्वयम्भु जाने/आउने गर्छन् ।








