सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु, ११ जना घाइते

काठमाडौं । नवलपरासी (पश्चिम), रामेछाप, सर्लाही, सप्तरी र सुर्खेतका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

नवलपरासी (पश्चिम), सरावल गाउँपालिका-१ बासा चोकमा प्रदेश ३-०१-०२३ च ५७६६ नम्बरको बलेरो पिकअपले लु१ ह ८१० नम्बरको अटो रिक्सालाई बिहीबार दिउँसो ठक्कर दिँदा अटोमा सवार तिलोत्तमा नगरपालिका-११ बस्ने ५५ वर्षीय दुर्गा बहादुर बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अटोका चालक समेत अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै रामेछाप, सुनापती गाउँपालिका-४ बेलडाँडास्थित सडकमा बा१० च ५५९८ नम्बरको बलेरो अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा बलेरोमा सवार सुनापाती गाउँपालिका-१ गुन्सी भदौरे बस्ने १२ वर्षीया सुजता श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बलेरोमा सवार अन्य १२ जनालाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा २ जनालाई थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं रिफर गरिएको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सर्लाही, ईश्वरपुर नगरपालिका-३ बानटोलस्थित सडकमा अस्थायी नम्बरको प्लेटको बलेरोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने रामसुन्दर सहनीको १२ वर्षीय छोरा रबि सहनीको बिहीबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि गोदावरी हेल्थकेयर बयलवासतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

उता सप्तरी, कञ्चनरुप नगरपालिका-१२ स्थित सडकमा ना।६ ख ५०६९ नम्बरको बसले अन्नटेष्ट मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार उदयपुर चौबन्दी गढी नगरपालिका(९ बस्ने ६५ वर्षीया जगत माया खडकाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेतमा पनि सवारी दुर्घटना भएकाे छ । गुर्भाकोट नगरपालिका-९ बोटेचौरस्थित सडकमा ना८ ख २३१४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४८ वर्षीय धन बहादुर भण्डारीको मृत्यु भएको हाे । ठक्करबाट गम्भीर घाइते भएका उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट घाइते भएका उनकै छोरी रुपा खड्काको ८ वर्षीय छोरा भिम बहादुर खड्का र १ वर्षीय छोरा भुवन खड्काको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

प्रतिक्रिया