वीपी प्रतिष्ठानका उपकुलपतिले स्वकीय सचिव दिलिप भट्टराईलाई हटाए

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आफ्ना सल्लाहकार तथा स्वकीय सचिव दिलिप भट्टराईलाई निकालेका छन् ।

भट्टराईले आफ्नो नाम बेचेर अनैतिक कृयाकलाप गरेर आफैंलाई बदनाम बनाएपछि उपकुलपतिले भट्टराईसँगको करार भंग गरेका हुन् । भट्टराईलाई तिहार अगाडी नै राजिनामा मागिएको थियो ।

प्रतिष्ठानको कोरोना हस्पिटल निर्माण र स्वास्थ्य सामग्री खरिदमा स्थानीय ठेकेदार तथा मेडिकल सप्लायर्ससँग मिलेर चलखेल गरेको आरोप लागेपछि उपकुलपतिले बाध्य भएर स्वकीय सचिव भट्टराईलाई निकालेका हुन् ।

प्रतिष्ठानका एक पदाधिकारीले उपकुलपतिले स्वकीय सचिवलाई हटाएर अर्को स्वकीय सचिव नियुक्ति गरेको बताए । ‘आधिकारिक रुपमा दिलिप भट्टराईलाई हटाइसकेको थाहा छैन, तर उनको स्थानमा गणेश गिरी नाम गरेका व्यक्ति प्रतिष्ठानमा हाजिरी भइसकेका छन् ।’ ती पदाधिकारीले भने ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति डा. उपेन्द्र कोइराला जो पूर्वरक्षामन्त्री इश्वर पोखरेलका सम्धी समेत हुन् उनकै सिफारिसमा उपकुलपतिले दिलिप भट्टराईलाई गत चैत्र अन्तिममा स्वकीय सचिव बनाएका थिए । तिहार अगाडी राजधानी आएका प्रतिष्ठानका उपकुलपति सहित अन्य पदाधिकारीलाई भेट गरेरै डा. कोइरालाले भट्टराईलाई नहटाउन दवाव दिएका थिए ।

मासिक लाख रुपैंया तलबभत्ता, गाडी, लाखौंको मोवाइलसमेत दिएर ‘काखी’ च्यापेका भट्टराईका कारण आफुसँगै स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीसमेत विवादित भएपछि उपकुलपतिले भट्टराईलाई निकालेको स्रोतको दावि छ ।

भट्टराईलाई कोरोना हस्पिटल निर्माणमा धरानका एक व्यापारीबाट सस्तोमा सामान किनेर महंगो रेटमा विल बनाएर पेश गरेको, विराटनगरका व्यापारी अजय गिरीसँग मिलेमतोमा आफैंले कोरोना हस्पिटलमा कमसल सामान झिकाएको, प्रतिष्ठानकी एक नर्समाथि अभद्र व्यवहार समेत गरेको आरोप लागेको थियो ।

यसका अलावा उनलाई प्रतिष्ठानको आर्थिक तथा प्रशासनिक काम कारवाहीमा अन्य पदाधिकारी र कर्मचारीलाई हस्तक्षेप गरेको र धम्क्याएको आरोप पनि थियो । स्वकीय सचिवका कारण प्रतिष्ठानका अधिकांश कर्मचारीसमेत उपकुलपतिका विरुद्ध आक्रोशित भएर ‘एक लाखे सल्लाहकार चाहिँदैन’ भन्दै आन्दोलनमै उत्रिएपछि नचाहँदा नचाहँदै डा. गिरीले भट्टराईलाई हटाएका हुन् ।

प्रतिष्ठानबाट उपकुुलपतिले दिलिप भट्टराईलाई हटाएपछि अहिले उनी राजधानीकै महंगो अपार्टमेन्टमा बस्न थालेका छन् । प्रतिष्ठानबाट बर्खास्त भएपछि भट्टराई आजभोली भक्तपुर गोठाटारको सनसिटी अपार्टमेन्टमा बस्न थालेको श्रोतको दावि छ ।

केहि दिन अगाडी मकालु खबरसँग दिलिप भट्टराईले आफु अब वीपी प्रतिष्ठान फर्केर नजाने बताएका थिए । प्रतिष्ठानमा आफुले कसरी काम गरें, केके गरें भन्ने केही दिनमै जानकारी दिने बताएका थिए । उपकुलपतिकाे सल्लाहकारबाट हटेकाे विषयमा भट्टराईसँग कुरा गर्न खाेज्दा उनले फाेन उठाएनन् ।

प्रतिक्रिया