कोरोनाकालमा पर्व : घरमै मनाइँदै छठ, सिङ्गारिएनन् जलाशय

विराटनगर । छठ नेपालको विशेष पर्व हो । खासगरी तराई (मधेस) क्षेत्रमा यो पर्वलाई विशेष रुपमा मनाइन्छ । षष्ठी भगवतीको पूजा गरी विभिन्न आस्था (पुत्रलाभ, पति र परिवारको कल्याणको कामना)का साथ छठ पर्व मनाउने प्रचलन रहँदै आएको छ । पछिल्लो समय विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड उन्नाइस)का कारण यो वर्ष आस्थाको पर्व छठ पनि प्रभावित भएको छ ।

जिल्ला प्रशासन कार्यालय, मोरङले भीडभाडरहित छठ पर्व मनाउन आग्रह गरेपछि स्थानीयले घर–घरमै छठ पर्व मनाउने तयारी थालेका छन् । गत कात्तिक २७ गते जिप्रका मोरङले आवश्यक स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्दै छठ पर्व मनाउन मोरङबासीलाई आग्रह गरेको थियो ।

प्रशासनको आग्रहअनुसार विराटनगर १० का सञ्जय सिंह वर्षेनी सिंघिया खोला किनारमा छठ पर्व मनाउने गरे पनि यो वर्ष कोरोना महामारीका कारण घरैमा परिवारसँग रहेर छठ मनाउने योजनामा छन् ।  उनले मकालु खबरसँग भनेका छन्– “सधैं सिंघिया खोला किनारमा गएर सबै आफ्ना आफन्त भेला भएर पूजा आराधना गर्ने गरेका थियौं । तर, यो वर्ष कोरोनाले त्यो माहौल भएन । यो महामारीमा भीडभाड गरेर जलाशयमा गएर छठ पर्व मनाउन स्वास्थ्यको हिसाबले सुरक्षित पनि हुँदैन । यस वर्ष घर–घरमै छठ पर्व मनाउने तयारी थालेका छौं ।’

छठको दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घा दिएपश्चात् रातभर खोला किनारमा बसेर भजन किर्तन गर्दै भोलिपल्ट बिहान पुनः सूर्यलाई अधा दिइ पूजा विसर्जन गरिने परम्परा रहेको शाहको भनाइ छ । यता विराटनगर ११ का देव शाह पनि घरैमा छठ मनाउने सुरमा छन् । उनी भन्छन्, ‘वर्षौँदेखि चलिआएको परम्परा साथै आस्थाको महान् पर्व मनाउनका लागि घरैमा जलाशय निर्माण गरेर छठपर्व मनाउने तयारी गरिरहेका छौँ ।’

सधैं विराटनगरका कुना कन्दरा भएर बग्ने सिंघिया खोला, केशलिया खोला र मोरङ सुनसरी सिचाईँ आयोजना अन्तर्गतको नहर क्षेत्र बेहुलीझै सिंगारिएको देखिने यो वर्ष सुनसान देखिएको छ । यमपञ्चक (भाइटीकाको भोलिपल्ट) छेउमा रहेको जलाशयहरुमा घाट बनाउने तयारीमा जुट्ने स्थानीयहरु आ–आफ्नो घरमा जुटेका छन् ।

‘आवश्यक सुरक्षा मापदण्ड अपनाएर जलाशयमा अर्घा दिने व्यवस्था’
खोला किनारमा भीडभाड गरेर सजावट गर्ने क्रियाकलापहरु गर्न नदिइने जिल्ला प्रशासन कार्यालय, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिएका छन् ।

घरमै छठ पर्व मनाउन नसक्नेहरुका लागी बढी भीडभाड नगरी आवश्यक सुरक्षा मापदण्ड अपनाएर सम्बन्धित जलाशयमा गएर अर्घा दिन पाउने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङको प्रहरी उपरीक्षक सन्तोष खड्का बताउँछन् । उनले भनेका छन्, “सूर्यलाई अर्घा दिने बाहेकका अन्य क्रियाकलापहरुमा रोक लगाइएको छ ।”

प्रतिक्रिया