बिदाईको नमिठो त्यो पल !

काठमाडौं ।धनसरा माझकोटी/ उमेरसँगै मेरा रहर अनि सपनाहरु पनि बढ्दै थिए । एकातिर आफ्नो सपना पूरा गर्नु थियो भने अर्कोतिर मेरो बुवाआमालाई खुसी पार्नु थियो । रहर अनि सपनाहरु पूरा गर्न नेपाली सेनामा भर्ती भएँ । नेपाली सेनामा छनौट हुनु मेरो लागि त्यति सजिलो थिएन । निकै मेहनत गरेकी थिएँ । अन्ततः सफल पनि भएँ । सेनामा छनौट भएको केही समयपछी घर छोडेर पल्टन जानु थियो मलाई ।

विसं २०७६ मङ्सिर २८ गतेको दिन, झरी परेको थियो । झरीमा रुझ्दै घरबाट निस्किने साइत भयो । त्यो दिनसम्म सँगै भएका आमाबुवा, दिदीबहिनी, दाजुभाइ, साथीसङ्गी अनि जन्मिएको प्यारो त्यो गाउँ छाडेर जाने फिटिक्कै मन थिएन । के गर्नु रहर होइन, बाध्यता थियो । गरिबी अनि बेरोजगारीले घर छोडेर पल्टन जान बाध्य भएकी थिएँ म । सोचेकी पनि थिइनँ, यसरी बिदाई भएर घर छोडी जानुपर्ला भन्ने । सोचेको पुग्ने भए को पो रुनु पर्थ्यो र ? विस्तारै समयले कोल्टो फेर्दै थियो । जाने बेला हुँदै थियो । मेरी आमा मलाई बिदाई गर्न भनी पानी पर्न लाग्दा आकाशमा लागेको कालो बादलको जस्तै अनुहार लगाएर हातमा पूजा अक्षेताको थाली लिइ मरो अघि ठिङ्ग उभिनुभएको थियो र छेऊमै हातमा फूलमाला दोसल्ला लिइ गहभरी आँसु अनि मनभरी हर्षका साथ गरुङ्गो मन लिएर बुवा उभिनुभएको थियो । जब आमा मलाई बिदाईको टीका लगाउन भनी अघि बढ्दै हुनुहुन्थ्यो, त्यतिबेला मेरो आँखाभरी आँसुको वर्षात भयो । केही गरे पनी त्यो बलिन धारा रोक्न सकिनँ । मेरो त्यो रोदनदेखि मेरी आमा डाँको छोडेर रुन थाल्नुभयो ।

म उभिरहेँ, आमा मलाई टीका लगाउन थाल्नुभयो । मैले आमाको अनुहार हेरिरहेँ, टीका लगाउँदा लगाउँदै मेरी आमाको आँखाबाट हिराका कणझैं बाहिर परेको झरीका थोपाझैं आँसुका ढिक्काहरु बरबर…झर्न थाले र पछ्यौरीले पछाडी फर्केर आँसु पुछ्न थाल्नुभयो । जतिसुकै दुःखमा नि नआत्तिने सहनशील मेरो बुवा नि आफूलाई सम्हाल्न खोज्दा खोज्दै आँसु झरेको पत्तै पाउनुभएन । एक हातले आँसु पुछ्दै मलाई त्यो रङ्गिन माला र दोसल्ला लगाइदिनुभयो । बुवाआमाको त्यो निराशापन अनि त्यो रुवाई देखेर मलाई असह्य भैसकेको थियो ।

लाग्थ्यो मनमा कुनै पहाडको चट्टान आएर थिचिरहेको छ, आँधीहुरी उर्लिरहेको छ । न केही बोल्न सकेँ, न बुवाआमालाई सम्झाउन नै सकेँ । आफैँ झन रुन थालेँ । मेरी आमालाई सम्झाउनलाई मसँग कुनै आत्मबल नै थिएन । झन भक्कानिन थालेँ । म भित्रभित्रै टुक्रिएकी थिएँ । म आफैँलाई सम्हाल्न सकेको थिइनँ त कसरी अरुलाई सम्हाल्न सक्थेँ र ?

बिदाई हुनुको अघिल्लो रात आमालाई भनेकी थिएँ, ‘आमा म भोलि जाँदा नरुनु है ! किनकी म तालिममा हुँदा सम्झिरहनेछु, मेरी आमा अझैसम्म रोइरहनुभएको होला कि भन्ने ।’ आमाको मनै न हो, कहाँ मान्थ्यो र आफ्नो मुटुको टुक्रासँग छुट्टिनु ।
समय बित्न कति नै लाग्छ र, भन्दाभन्दै घरबाट छुटिने बेला भयो । आमा छोरी भनेर झन रुन थाल्नुभयो । बुवाआमालाई लाग्थ्यो होला, मेरी छोरी हामीबाट कहिल्यै टाढा नहोस् । तर, के गर्नु त्यहाँबाट टाढा हुनुपर्ने बाध्यता थियो । सुनौला सपनाका टुसाहरु पालुवामा परिणत गर्नु थियो अनि प्रशस्तै निराशाहरु आशाहरुमा परिणत गर्नु थियो । एक पुरानो झोलाभित्र आफ्नो सारा खुसी, परिवारको सम्झना, साथीभाइको मीठो याद, केही आशाहरु र केही थान सपनाहरुलाई बन्धन गरेर घरबाट हिँडे ।

प्रतिक्रिया