अध्यक्षद्वयसँग सञ्चारमन्त्रीको याचना–‘आरोप–प्रत्यारोपको पत्रलाई प्रेमपत्र सम्झेर एकता बचाउनुस्’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टी एकतालाई बचाउन अध्यक्षद्वयलाई आग्रह गरेका छन् । पार्टीको आन्तरिक विवाद उत्कर्षमा पगेको बेलामा आफ्नो आधिकारिक ट्वीटर् ह्याण्डमार्फत् पार्टी एकतालाई बचाउन आग्रह गरेका मन्त्री गुरुङले अहिलेको आरोप प्रत्यारोपको पत्रलाई प्रेम पत्र सम्झिनसमेत आग्रह गरेका छन् ।

आजको सचिवालय बैठक स्थगित गर्नसमेत सुझाव दिएका मन्त्री गुरुङले अकल्पनीय घटनालाई समेत बिर्सेर एकता भएको पार्टीले विश्व कम्युनिष्टहरुलाई नयाँ दृष्टान्त दिएकोसमेत उल्लेख गरेका छन् । उनले थप उल्लेख गरेका छन्–‘सोच्नै नसकिने अकल्पनीय घटनालाई त बिर्सेर दुई ठूला भिन्न धारका कम्युनिष्ट पार्टीलाई एकताबद्ध गरेर विश्व कम्युनिष्ट आन्दोलनमै नयाँ दृष्टान्त पेश गर्न सफल अध्यक्षद्वयलाई अहिलेको आरोप–प्रत्यारोपको पत्रलाई प्रेमपत्र सम्झेर आजको सचिवालय बैठक स्थगित गरी एकतालाई बचाउन अनुरोध गर्दछु ।’

सचिवालय बैठक दिउँसो १ बजे बालुवाटारमा बस्दैछ । तर, प्रधानमन्त्री ओलीले भने त्यसलगत्तै २ बजे सचिवालय बैठक डाकेका छन् । अहिले शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत् दल फुटाउन लागेको स्रोतले बताएको छ ।
अध्यक्ष दाहालइतर एक केन्द्रीय सदस्यले मकालु खबरसँग भनेअनुसार प्रधानमन्त्री ओली पार्टी विभाजन गर्ने मनस्थितिमा पुगिसकेका छन् । उनले भनेका छन्–‘अध्यक्ष दाहालले कार्तिक २८ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीलाई प्रतिपक्षले भन्दा पनि तल्लो स्तरको आरोप लगाएकाले अब सँगै बस्न सक्ने अवस्था रहेन । आजको मन्त्रिपरिषद्ले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सम्भावना छ ।’

ओलीनिकटकै अर्का केन्द्रीय सदस्यले पनि प्रधानमन्त्री ओलीले आफूहरुलाई पार्टी फुटाउनुपर्ने बाध्यता आइलागेको बताउँदै सहयोगको लागि अनुरोधसमेत गरिसकेको बताए । ‘उहाँ दल फुटाउने मनस्थितिमा पुगिसक्नुभएको छ । हामीसँग उहाँले सहयोग पनि मागिसक्नुभएको छ ।’ उनले भनेका छन् ।

यता अहिले पनि प्रधानमन्त्री ओली शीतल निवास पुगेका छन् । उनी दल विभाजनकै थप सर–सल्लाहको लागि शीतल निवास पुगेको बताइएको छ । यसअघि पनि गत बैशाखमा नेकपा आन्तरिक विवादमा अल्झँदा प्रधानमन्त्रीले दल फुटाउने अध्यादेश ल्याएका थिए ।

मन्त्रीको ट्वीट्ः–

प्रतिक्रिया