दोश्रो खेलमा नेपालको सुधारिएको प्रदर्शन, मैत्रीपूर्ण फुटवलको उपाधि बंगलादेशलाई

काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण फुटवल सिरिजको दोस्रो खेलमा नेपालले सुधारिएको प्रदर्शन गर्दै बराबरी खेलेको छ ।
कतार विश्वकपको दोश्रो छनौट तयारीमा रहेको नेपाल बंगलादेशसँग पहिलो खेलमा २–० गोल अन्तरले पराजित भएकोमा ४ दिन पछि सोही टिमसँग खेल्दा नेपालको प्रदर्शन सुधारिएको थियो ।

आज बंगबन्धु रंगशालामा भएको दोश्रो खेलमा नेपालले बंगलादेशलाई ०–० को बराबरीमा रोक्न सफल भयो । शुरुवाती चरण देखि नै बंगलादेशलाई जित्ने रणनीति अपनाउँदै नेपाली टिमले आक्रमक फुटवल पस्केको थियो ।

खेलमा दुवै टोलीले जितका लागि पाएका अवसरहरु सदुपयोग गर्न नसक्दा नेपालले बराबरीमा चित्त बुझायो । पहिलो खेल २–० ले जितेकाले मैत्रीपूर्ण सिरिजको उपाधि बंगलादेशले हात पारेपनि आजको खेलले नेपाललाई विश्वकप छनौट खेल्न हौसला बढेको छ ।

दोश्रो खेलमा नेपालले गोल गर्ने अवसर पाएपनि स्ट्राइकरहरुले सदुपयोग गर्न सकेनन् । मिडफिल्ड र डिफेन्सले बल पकडमा लिएर खेले तर उनीहरुले समेत स्ट्राइकरसम्म बल ल्याउन नसक्दा नेपालले मैत्रीपूर्ण फुटवलको सिरिज बंगलादेशलाई बुझायो ।

खेलको तेस्रो मिनेटमा नेपाली टिमका दर्शन गुरुङको फ्रिकिक क्लियर भएर आएपछि तेज तामाङले करिब ३० यार्ड टाढाबाट गरेको भली बंगलादेशी गोलरक्षक अशरफुल रानाले बचाए । नेपालले खेलको १९ औं मिनेटमैै खेलाडी परिवर्तन गर्दै कप्तान भरत खवासको स्थानमा नवयुग श्रेष्ठलाई मैदानमा प्रवेश गराएको थियो ।

पहिलो हाफको २३ औं मिनेटमा बंगलादेशका सुमन रेजाले पेनाल्टी क्षेत्र बाहिरवाट गरेको प्रहार क्रसबारभन्दा थोरै माथिबाट बाहिरिँदा रंगशालामा उपस्थित घरेलू समर्थक स्तब्ध भए । २८ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र सादले उद्दीनले दिएको क्रसलाई अनन्त तामाङले क्लियर गरे । ३१ औं मिनेटमा जिवनको क्रसमा सुमन रेजाको प्रहार गोलरक्षक किरण चेम्जोङले रोके ।

३३ औं मिनेटमा एरिक विष्टको प्रहारमा अनन्तको हेडरले कुनै कमाल देखाउन सकेन । ३५ औं मिनेटमा विश्वनाथ घोषको थ्रोमा गोलरक्षक किरण झुक्किए । ३९ औं मिनेटमा बंगलादेशी कप्तान जमाल भुयाँको फ्रिकिकलाई किरणले उत्कृष्ट बचाउ गरे । बाँकी समय दुवै टोलीको प्रदर्शन सामान्य भयो ।

खेलको दोस्रो हाफको शुरुमै तेज तामाङको स्थानमा मैदान प्रवेश गर्दै पुजन उपरकोटीले राष्ट्रिय टोलीबाट डेब्यु गरे ।

५६ औं मिनेटमा छिरिङ गुरुङको लो क्रसमा नवयुग श्रेष्ठ र सुजल श्रेष्ठ दुवैले पेनाल्टी क्षेत्रभित्र सट प्रहार गर्न नसक्दा नेपाल जितबाट टाढा भयो । लगत्तै साद उद्दीनले बढाएको बललाई किरणले अगाडी बढेर रोके । अनन्तले उत्कृष्ट डिफेन्स गर्दै बंगलादेशको अर्को आक्रमण विफल पार्दै बंगलादेशीलाई निराश बनाए ।

खेलको ७० औं मिनेटमा विकास खवासले प्रहार गरेको लामो दुरीको फ्रिकिक आकाशिएर गयो । ७१ औं मिनेटमा सेसेहाङ आङदेम्बे र रवि पासवानले दर्शन गुरुङ र अन्जन विष्टलाई विस्थापित गरे ।

इन्ज्युरी समयको पहिलो मिनेटमा रजिन धिमालको फ्रिकिकलाई कप्तान जमालले क्लियर गरे । दोस्रो मिनेटमा रजिन धिमालको क्रसमा नवयुग श्रेष्ठको हेडर पोस्टमा लागेर फर्किएको थियो ।

नेपालले एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेलेको हो । कोरोना महामारीका कारण ८ महिनादेखि नेपाली खेलाडी फुटबलका कुनैपनि गतिविधिमा संलग्न हुन सकेका थिएनन् ।

तस्विरहरूः बंगलादेश फुटवल फेडरेशन

प्रतिक्रिया