मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कतार विश्वकप छनाैटः ब्राजिल, उरूग्बे, चिलीकाे जित

राेयटर्स । ब्राजिल कतारमा हुने विश्वकप २०२२ छनोटमा शतप्रतिशत प्रदर्शन कायम राख्ने एकमात्र टिम भएको छ । ब्राजिलले शुक्रबारको खेलमा भेनेजुएलालाई पन्छायो ।

अन्य खेलमा उरुग्वे र चिली पनि तीन बहुमूल्य अंक बटुल्न सफल भएका छन् । साओ पाउलोमा भएको खेलमा भेनेजुएलाले बलियो चुनौती पेस गरे पनि ब्राजिलले रोबर्टो फिर्मिनोको गोल मदतमा १–० को जित निकाल्न सफल रह्यो ।

ब्राजिलका लागि लिभरपुल खेलाडी फिर्मिनोले ६७औं मिनेटमा खेलको एकमात्र गोल गरे । यो जितपछि ब्राजिलको छनोटमा शतप्रतिशत प्रदर्शन कायम रहेको हो । ब्राजिल तीन खेलबाट ९ अंकसहित १० टिम सम्मिलित छनोटको शीर्षमा पनि रह्यो ।

अन्य खेलमा उरुग्वेले कोलम्बियालाई ३–० र चिलीले पेरुलाई २–० ले हराए । कोलम्बियाली भूमिमा प्राप्त उरुग्वेको महत्त्वपूर्ण जितमा एडिसन काभानी, लुइस स्वारेज र डार्विन नुनेजले गोल गरे ।

काभानीले खेलको सुरुमै गोलको खाता खोलेयता स्वारेजले दोस्रो हाफमा पेनाल्टीबाट गोल गरेका हुन् । जेसन मुरिलोले रोड्रिगो बेनेटाचरलाई लडाएपछि उरुग्वेले पेनाल्टीको अवसर पाएको हो ।

येरी मिनाले दोस्रो पहेँलो कार्ड पाएर मैदान छाड्न बाध्य भएपछि कोलम्बिया १० खेलाडीमा समेटिएको थियो । घरेलु टिमका लागि खराब दिन साबित खेलमा स्वारेजले आफ्नो देशका लागि ६३औं अन्तर्राष्ट्रिय गोल आत्मसात् गर्न सफल रहे ।

चिली

यस्तै चिलीले आफ्नो हात पारेको जितमा आर्टुरो भिडालले दुवै गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको हो । खेलको २० औं मिनेटमा आर्टुरोले पहिलो गोल गरे र त्यसको १५ मिनेटपछि दोस्रो गोल थपे ।

लिग तालिकामा अर्जेन्टिना ७ अंकसहित दोस्रो स्थानमा छ । यो अहिलेसम्म अपराजित दोस्रो टिम हो । त्यसपछि इक्वेडर र उरुग्वे समान ६ अंकमा छन् । अब बुधबार हुने खेलमा उरुग्वेले ब्राजिलको आतिथ्यता गर्नेछ भने अर्जेन्टिना पेरुको भ्रमणमा निस्कने छ ।

प्रतिकृयाहरु
Loading...