कोरोना संक्रमणका विच सर्वसाधारणदेखि सेलिब्रेटी तथा नेताहरुको भाइटिका (फोटो फिचर)

काठमाडौं । कोरोना संक्रमणले आक्रान्त भएपनि तिहारको भाइटिका सम्पन्न हुने क्रममा छ । विगतका वर्षहरु जस्तो हर्षोल्लास र खुसीका साथ परिवार भेला भएर तिहार मनाउन नसकिएपनि घरपरिवारसँग भएकाले तिहार पर्व मनाएका छन् ।

आज तिहारको अन्तिम दिन अर्थात भाइटिका दिदिबहिनीले आफ्ना दाजूभाईहरुलाई टिका लगाउने कार्य जारी छ । विहान ११ बजेर ३७ मिनेटको शुभसाइतमा धेरैले टिका ग्रहण गरेका छन् । विहान शुभ साइतको टिका ग्रहण गरेपछि आज दिनभर भाइटिका ग्रहण गर्ने प्रचलन छ ।

आज सर्वसाधारणदेखि, कलाकार, नेताहरुले आ–आफ्ना दिदिबहिनीबाट भाइटिका ग्रहण गरेका छन् । दाजुभाइ तथा दिदिबहिनी नहुनेले पनि दाजूभाइ तथा दिदिबहिनी मानेर भाइटिका लगाउने प्रचलन छ ।

पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूको अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको हो ।

यसरी रहँदा/बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भन्दा यमुनाले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी/भाइ दाजु/बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्’ भन्ने वरदान मागिन् ।

यमराजले पनि ‘तथास्तु’ भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ ।

तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ ।

सम्पूर्ण तस्विरहरुः सामाजिक सञ्जालबाट

   

प्रतिक्रिया