कीर्तिमानी फुटबलर जेभियर मस्चेरानोद्वारा खेलाडी जीवनबाट सन्याश

एजेन्सी । अर्जेन्टिनाका कीर्तिमानी फुटबलर जेभियर मस्चेरानोले खेलाडी जीवनबाट सन्याशको घोषणा गरेका छन् ।
अर्जेन्टिनाबाट कीर्तिमानी १४७ खेल खेलेका मस्चेरानोले विश्व प्रसिद्ध फुटवल खेलाडी लियोनल मेस्सीसँग क्लब तथा राष्ट्रिय दुवै टोलीबाट खेलेका छन् ।

‘म व्यावसायीक खेलाडी जिवनबाट आज सन्याश लिँदै छु । क्लबले अर्जेन्टिनामा मेरो करियर अन्त्य गर्न दिएकोमा खुसी व्यक्त गर्न चाहन्छु । मैले व्यावशायीक खेलाडी जिवन शतप्रतिशत बाँचे । जति गर्न सक्थेँ त्यो गरेँ ।’ खेल जिवनबाट विश्राम लिँदै मस्चेरानोले भनेका छन् ।

३६ वर्षीय मिडफिल्डरले लामो समय बार्सिलोना र लिभरपुलबाट व्यावसायीक फुटबल खेलेका थिए ।

जेभियर मस्चेरानो

लिभरपुलका लागि तीन वर्ष र बार्सिलोनाका लागि ८ वर्ष खेलेका मस्चेरानोले पछिल्ला दुई वर्ष चीन र अर्जेन्टिनाको घरेलु लिग फुटबलमा बिताएका छन् । गत सिजन उनले अर्जेन्टिनाको एस्टुडियान्टेसका लागि खेलेका थिए ।

१९ वर्षको उमेरमा सन् २००३ मा रिभर प्लेटबाट व्यावशायीक फुटबलमा डेब्यु गरेका मस्चेरानोले उक्त क्लबलाई घरेलु लिग उपाधि जिताएका थिए । सन् २००६ मा मस्चेरानो र कार्लोस टेभेज दुवै इङ्लिस प्रिमियर लिग फुटबल क्लब वेस्टहाम युनाइटेड स्थानान्तरण भएका थिए ।

अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सी रहेको बार्सिलोनाका लागि मास्चेरानोले पाँच ला लिगा र पाँच कोपा डेल रे तथा दुई युरोपियन च्याम्पियन्स लिग फुटबल उपाधि जितेका छन् । उनले दुईपटक क्लब विश्वकप पनि जितेका छन् । अर्जेन्टिना सन् २०१४ को विश्वकपमा फाइनलसम्म पुग्दा मस्चेरानोको भूमिका महत्वपूर्ण रहेको थियो ।

प्रतिक्रिया