कविता/कवि [शनिबारीय कोशेली]

२०७७ कार्तिक २९ गते
![कविता/कवि [शनिबारीय कोशेली]](https://www.makalukhabar.com/wp-content/uploads/2020/11/AmirLama_Makalukhabar.jpg)
कविता/कवि
तिम्रो हरेक हेराइमा
मेरो पौरुष डगमगाउने
तिम्रो हरेक हँसाइमा
जीवन वासना मगमगाउने
लहराउँदै सबै यौवन तिम्रै वरीपरी
तर कहाँ तिमी कलियुगकी मेनका
अनि कहाँ म एउटा अस्तित्वहीन कवि
तिम्रो हरेक आगमनमा
दिवास्वप्न तलतलाउने
तिम्रो हरेक निर्गमनमा
उपेक्षा लहर सलबलाउने
रङ्गाउँदै एक स्पर्शको चाह मुटुभरी
तर कहाँ तिमी मोटर सवार मोहिनी
अनि कहाँ म एउटा पैदल हिँड्ने कवि
तिम्रो हरेक सम्झनामा
मेरो बैंस भुनभुनाउने
तिम्रो हरेक तिर्सनामा
जोवनको लय गुनगुनाउने
सुम्सुमाउँदै मोह यो कस्तो आदत सरी
तर कहाँ तिमी छन्द अनुप्रासकी कविता
अनि कहाँ म एउटा मामूली गद्य कवि
–अमीर मगर

२०७७ कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित