भाइटिकामा के हुन सक्छ कोसेली ?

काठमाडाैं । नेपालीहरुको महान चाड तिहार आजबाट हाम्रो घरदैलोमा भित्रिइसकेको छ । तिहारलाई प्रकृति पुजनको चाडको रुपमा पनि लिइन्छ । तिहारका पाँच दिन फरकफरक पशुपन्छीहरुलाई पुज्ने प्रचलन छ ।

तिहारको पहिलो दिन कागको पुजा गरिन्छ । दोस्रो दिन कुकुर, तेस्रो दिन गाई तथा लक्ष्मीको पुजा गरिन्छ । चौथो दिन गोबद्र्धन पुजा अर्थात गोरुको पुजा गरिन्छ भने, तिहारको अन्तिम दिन भाइटिका पर्दछ ।

भाइटिकामा दिदिबहिनीले आफ्ना दाजुभाईहरुलाई सप्तरंगी टिका लगाएर मखमली, सयपत्री माला लगाईदिने चलन छ । त्यससँगै दिदिबहिनीहरुले मिठामिठा परिकार सेल रोटी, फलफुल, भाइमसलाहरु दिने गर्छन् भने, दाजुभाईहरुले पनि दिदिबहिनीहरुलाई समेत गच्छे अनुसारका उपहार तथा नगद दिने प्रचलन छ । एक हिसाबले भन्ने हो भने, तिहार माइती (दाजुभाई तथा दिदिबहिनी) हरुको मिलनको पर्व समेत हो ।

भाइटिकामा दिदिबहिनी तथा दाजुभाईले एक अर्कालाई दिने उपहारको विशेष चर्चा हुने गर्दछ ।

धेरै जसो दाजुभाईले दिदिबहिनीलाई दिने उपहार हो लत्ता कपडा तथा पैसा । कसै कसैले घडी, औठी, सिक्रि तथा अलिक महंगा उपहार पनि दिने गर्दछन् । भाइटिकामा दिने कोशेली उपहार जस्तो सुकै भएपनि एक दिदिबहिनी र दाजुभाईको माया र स्नेह नै सबथोक हो । त्यसकारण उपहार सानो ठूलो भयो भनेर नाक खुम्च्याउनु भन्दा पनि एकापसमा स्नेह र प्रेम साटासाट गर्न पाइयो भन्ने ठूलो कुरा हो ।

दिदिबहिनीलाई के उपहार दिने ?

दाजुभाईहरुले दिदिबहिनीलाई भाइटिकामा खुसी बनाउनु पर्छ भन्ने मान्यता छ । भाइटिकामा दाजुभाईहरुले आफ्ना दिदिबहिनीलाई उनीहरुको चाहना अनुसारको उपहार दिएर भन्दा पनि सरप्राइज उपहार दिएर खुसी तुल्याउन सकिन्छ । यसका अलावा उनीहरुको रुचि अनुसार उपयोगी साधनहरु दिन सकिन्छ ।

विवाह भइसकेका दिदिबहिनीहरुलाई सारी, कुर्तासलवार, घडी, सिक्रि दिन सकिन्छ । आजकल मोवाइल दिनेपनि प्रचलन छ । पहिलो पटक विवाहित दिदिबहिनीको हातबाट टिका लगाउँदै हुनुहुन्छ भने उनीहरुलाई आकर्षक सारी, कुर्ता अथवा औठी जस्ता उपहार दिँदा विषेश हुन्छ ।

यदि दिदिबहिनीको विवाह भएको छैन भने उनीहरुलाई उनीहरुको रुचि कस्तो छ ? कुन कुरा मनपर्छ भनेर ख्याल गरेर उपहार छनौट गर्न सकिन्छ । कुर्ता सलवार, लेहेंगा, टिसर्ट पेन्ट, मोवाइल दिन सकिन्छ । आजकल दिदिबहिनीको डिमाण्ड अनुसारका गिफ्टहरु दिने प्रचलन बढेको छ । नगद रुपैंया दिएर पनि दिदिबहिनीहरुलाई खुसी तुल्याउन सकिन्छ । उपहार सानो ठूलो जस्तो सुकै भएपनि तिहारको भाइटिकाले दाजुभाई र दिदिबहिनी विच आत्मियता बढाउने भएकोले यसको ठूलो महत्व छ ।

दाजुभाईलाई के कोसेली दिने ?

भाइटिकामा दिदिबहिनीले दाजुभाईलाई दिने सबैभन्दा ठूलो उपहार भनेको भाइमसला हो । दिदिबहिनीले टिका लगाएपछि दिएको भाइमसलाको विशेष महत्व हुन्छ । भाइ मसलामा काजु, किसमिस, पेस्ता, बदाम, नरिवल, छोकडा, ल्वाङ, सुकुमेल इत्यादी हुन्छन् । त्यसमा फलफुल, सेलरोटी, अनरसाहरु पनि हुन्छ । यी खाद्यवस्तुहरु पौष्टिकताले भरिपूर्ण हुने गर्दछन् ।

साथमा दिदिबहिनीहरुले दाजुभाईका लागि टोली, गञ्जी, रुमाल, सर्ट पेन्ट, मफलर, कोटको कपडा तथा अन्य उपहारका वस्तुहरु पनि दिने गर्दछन् । आजकल घडी, पर्स, पुस्तक तथा दाजुभाईहरुलाई मनपर्ने वस्तुपनि दिने चलन छ ।

यसवर्ष कोरोना संक्रमणले धेरै दाजुभाई तथा दिदिबहिनीको भेटघाट जुर्न सकेको छैन । घरदेखि टाढा देशविदेशमा रहेका दाजुभाई दिदिबहिनीहरु एकापसमा भेटघाट गर्न नसकेपनि टेलिफोन, फेसवुक, म्यासेन्जर, ह्वाट्स एप, भाइभर जस्ता सामाजिक सञ्जालबाट एकापसमा जोडिन सक्छन् ।

सुख दुखः साटासाट गर्न सक्छन् भने, दाजुभाईहरुले दिदिबहिनीका लागि डिजिटल माध्यमबाट दक्षिणा पठाउन सक्ने बैैंक तथा वित्तीय संस्थाहरुले सुविधा ल्याएका छन् ।

प्रतिक्रिया