खैरहनीमा कर्मचारी सम्मान तथा बिदाइ

चितवन । खैरहनी नगरपालिकाले नगरमा उत्कृष्ट ठहरिएका कर्मचारीलाई सम्मान गर्नुका साथै सरुवा भएका कर्मचारीलाई बिदाइ गरेको छ ।

बिहिवार एक कार्यक्रममा ३ जना कर्मचारीलाई सम्मान, सरुवा भएका ४ जना कर्मचारी र सेवा निवृत्त भएका ५ जना कर्मचारीलाई बिदाइ गरिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव रुद्र प्रसाद शर्मा, वडा नम्बर १ का सचिव निर्मला कुमारी अधिकारी र कार्यालय सहयोगी भगवती अर्याललाई सम्मान गरिएको हो ।

निजामती कर्मचारी सेवा दिवसका अवसरमा उनीहरुलाई उत्कृष्ट कर्मचारी घोषणा गरिएको थियो । खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरी, उपप्रमुख सुनिता थपलिया र प्रमुख प्रशाशकीय अधिकृत पुरुषोत्तम शर्माले प्रशंसा पत्र प्रदान गर्दै माला लगाइ दोसल्ला ओढाएर सम्मान गरे ।

त्यस्तै खैरहनीबाट सरुवा भएका स्थानीय शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्याल, वडा नम्बर ३ का वडा सचिव बिक्रम सुबेदीलाई बिदाइ गरियो । सरुवा भएका नायब सुब्बा बाबुराम जैसी र लेखा अधिकृत केशव बराल भने अनुपस्थित थिए ।

यसै गरी नगरपालिकाबाट सेवा निवृत भएका गोविन्द प्रसाद तिमल्सिना, कोपिला परियार, लोकनाथ आचार्य, हरिलाल अधिकारी, नरनाथ आचार्यलाई मायाको चिनोसहित बिदाइ गरिएको थियोे ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्थगित कार्यक्रम शुभ दिपावलीको अवसर पारेर राखिएको स्थानीय शिक्षा अधिकारी राजु बानियाले बताए ।

सोही अवसरमा शुभ दिपावली, छठ पर्व र नेपाल संम्बतको शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

नगर प्रमुख लालमणी चौधरीले तिहार, छठ लगायत पर्व स्वास्थ्यको ख्याल राख्दै मर्यादित रुपमा मनाउनका लागि प्रेरित गर्न जनप्रतिनिधि, कर्मचारीहरुलाई आग्रह गरे ।

नगर प्रमुख चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, पूर्व स्थानीय शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्याल, लेखा अधिकृत केशव हुमागाइँ, सिनियर अहेव रुद्र शर्माले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया