यस्तो रह्यो संखुवासभाको किमाथांकामा प्रधानमन्त्रीको एक दिन (फोटो फिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिनभर संखुवासभाको किमाथांका बिओपी तथा अरुण तेस्रो जलविद्युत परियोजनाको निरीक्षण, अबलोकन तथा निर्देशन कार्यक्रम गरेका छन् । सो क्रममा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्यको समेत सहभागिता रहेको थियो ।

ओलीले आज दिनभर किमाथांका बिओपी तथा अरुण तेस्रो जलविद्युत आयोजनाको प्रगति विवरण समेत लिएका थिए । साथमा प्रधानमन्त्रीले किमाथांका मकालु गाउँपालिकाका स्थानीय जनतासँग प्रत्यक्ष कुराकानी पनि गरेका थिए ।

प्रधानमन्त्रीले स्थानीय जनताले तयार पारेको खाजा मकै, भटमास तथा कालो चिया पनि ग्रहण गरेका थिए । किमाथांका निरीक्षणका लागि प्रधानमन्त्री आउने भएपछि सो क्षेत्रका स्थानीय जनताको बाक्लो उपस्थिति रहेको थियो ।

त्यहाँ आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले दुई वर्ष अगाडि आफैंले किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याउने र भारतको जोगबनीदेखि किमाथाङ्कासम्मको तीन सय ९० मिटर उत्तर–दक्षिण कोशी करिडोर दुई लेनको सडक विस्तार गरी सञ्चालन गर्ने देखेको सपना पूरा हुँदै गएको बताएका थिए ।

प्रधानमन्त्री ओलीले सडक विस्तार गर्ने क्रममा भोटखोला गाउँपालिकामा १४ किमि सडक विस्तार गर्न समस्या देखिएपछि नेपाली सेनालाई जिम्मा दिइएको र अब चाँडै ट्र्याक ओपन हुने विश्वास लिएको समेत बताए ।

बुधबार बिहान साढे नौ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत सङ्खुवासभा पुगेका ओली साढे तीन बजे राजधानी फर्किएका थिए ।
थप फोटोहरुः तस्विर, राजन काफ्ले, प्रधानमन्त्रीको सचिबालय

 

प्रतिक्रिया