‘निधि सभापतिमा उठे गुटको विभाजन रहँदैन’ डा. रिजाल

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले पार्टीको १३ औं महाधिवेशनमा सभापतिका धेरै उम्मेद्वार हुँदा त्यो सकारात्मक नै हुने बताएका छन् ।

आज विहान ट्विट गर्दै नेता रिजालले उपसभापति विमलेन्द्र निधि समेत सभापतिको उम्मेद्वार भए पार्टीका लागि सकारात्मक भएको टिप्पणी गरेका छन् ।

उपसभापति निधि सभापतिको उम्मेद्वार भए पार्टीभित्र गुटको विभाजन समेत नरहने उनको भनाई छ । ‘विमलेन्द्र निधिजी सभापतिको उम्मेदवार हुँदा दुइभन्दा बढी उम्मेदवार हुन्छन र पार्टी अहिले झैं दुइटा ध्रुवमा चर्को गरी विभाजित रहदैन ।’ डा. रिजालले भनेका छन्–‘त्यो सकारात्मक हो ।’

रिजालले निधिले सफलता पाउने नपाउने परीक्षण र परखको कुरा भएको बताएका छन् । ‘उहाँले सफलता प्राप्त गर्ने/नगर्ने र सफल भए बिना भेदभाव सबैलाई नेतृत्व गर्न सक्ने/नसक्ने कुरा त अहिले पनि परीक्षण र परखको गर्भमा छ ।’

बर्तमान पार्टी सभापति शेर बहादुर देउवालाई कुनै समय लामो साथ दिएका डा. रिजाल अहिले देउवाप्रति रुष्ट छन् । गएको निर्वाचनमा पार्टीले लज्जास्पद हार व्यहोर्नुमा पार्टी सभापति मुख्य जिम्मेवार भएको भन्दै उनले देउवा गुटबाट बाहिरिएका हुन् ।

आगामी फागुन दोस्रो हप्ता हुने कांग्रेसको १४ औं महाधिवेशन सभापतिले ६ महिना पर धकेल्ने योजना बनाएका छन् । भोली कांग्रेस केन्द्रीय कार्य समितिमा महाधिवेशन सार्ने नसार्ने सन्दर्भमा छलफल समेत रहेको छ ।

प्रतिक्रिया