ओलीले प्रचण्डलाई भने- ‘भिडेर जान खोज्नु भएको हो भने भिडौं’

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टी सचिवालय बैठक बोलाउन ‘लचिलो’ देखिएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालयका ५ नेताले बैठक माग गर्दै कात्तिक २२ गते पत्र बुझाउँदासम्म प्रधानमन्त्री ओली सकारात्मक थिएनन् ।

बहुमत सदस्यले माग गरेपछि प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेललाई विधानअनुसार बैठक बोलाउने प्रक्रिया अगाडि बढाउन तोकादेश गरेका थिए । प्रधानमन्त्रीले मंगलवारसम्म आइपुग्दा बैठक बोलाउन आफू तयार रहेको जनाउ दाहाललाई दिएका थिए । उनले सोमवार महासचिव पौडेल र मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेललाई दाहाल निवास खुमलटार पठाएर बैठकका एजेन्डामा सहमतिको खोजी गरेका थिए । ओली अहिले सचिवालय बैठकको एजेन्डा र त्यसका निर्णयका विषयमा आश्वस्त हुन चाहिरहेका छन् ।

अध्यक्ष दाहाल, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी बैठक तत्काल बस्नुपर्ने, बैठकमै एजेन्डामा छलफल गरेर निर्णयमा पुग्नुपर्ने अडान लिएका छन् । बैठकका लागि दाहाल–नेपाल समूहले ५ बुँदे प्रस्ताव ओलीलाई बुझाएका थिए ।

उनीहरू कोभिड-१९ बाट उत्पन्न संकट, उपचार र नियन्त्रण प्रयास, स्थायी समिति बैठकको निर्णय कार्यान्वयनको समीक्षा, कर्णाली प्रदेशमा देखिएको पार्टी विवाद, पर्सा बर्दिवास हत्याकाण्डपछिको समस्या र रअका प्रमुखसँग प्रधानमन्त्रीको भेटवार्ताका विषयलाई एजेन्डा बनाई छलफल गर्नुपर्ने पक्षमा छन् ।

ओली भने यी एजेन्डाका कतिपय विषय छलफल गर्नुपर्ने मागसँग सहमत देखिँदैनन् । जसकारण उनले दाहालसँग पहिले एजेन्डामा सहमतिको खोजी गरेका थिए । तर बैठकका लागि सहमति कुरेर २ दिन बसेको दाहाल–नेपाल समूहले मंगलवार औपचारिक बैठक बोलाउने तयारी गरेको थियो । त्यसपछि भने ओलीले स्थायी समिति सदस्य पोखरेललाई खुमलटार पठाएर दाहालसँग छलफल गराएका थिए ।

पोखरेलले बैठक बोलाउनकै लागि पनि २ अध्यक्ष मिल्नुपर्ने, पार्टी विभाजन गरे कसैलाई पनि हित नगर्ने भन्दै नेताहरूले परिस्थितिलाई बुझ्नुपर्ने आग्रह दाहालसँग गरेका थिए । तर दाहालले पोखरेललाई निरपेक्ष कुरा मात्र गरेर समस्या समाधान नहुने जवाफ दिएको दाहाल–नेपाल समूहका एक सचिवालय सदस्यले बताए ।

‘तपाईं (पोखरेल) निरपेक्ष कुरा गर्नुहुन्छ, ठोस ठोस समस्या कहाँ छ, त्यो कुरा गर्नुहुन्न । समाधानको निम्ति प्रयत्न गर्नुहुन्न । निरपेक्ष कुरा गरेर हुन्छ ? तुरुन्त बैठक राखेर त्यही छलफल गर्नुपर्‍यो भन्नुस् प्रधानमन्त्रीज्यूलाई,’ दाहालले पोखरेललाई भनेका थिए ।

दाहाललाई पनि बैठक बोलाउन उनीनिकट समूहको दबाब थियो । त्यसपछि सुनाकोठीस्थित एक घरमा दाहाल, नेपाल, प्रवक्ता श्रेष्ठलगायत नेता छलफलमा बसेका थिए । नेताहरूले त्यहाँ पनि पार्टी बैठक बसेर अब अगाडि बढ्नुपर्ने कुरा गरेका थिए । दाहालले पोखरेलले ओलीका तर्फबाट ल्याएको सन्देश सुनाएका थिए । अन्य नेताले प्रधानमन्त्री अब बैठक बोलाउन तत्पर नहुने भन्दै बैठकबाटै अगाडि जान दाहाललाई दबाब बढाएका थिए ।

त्यसपछि भने दिउँसो ४ बजे सचिवालय बैठक बोलाउनेसम्मको तयारीमा दाहाल नेपाल समूह पुगेको थियो । त्यही बेला ओलीले दाहाललाई बालुवाटारमा छलफल गर्न निम्ताए । नेताहरूले ओलीसँग भेटेर अब बैठक नरोकिने भन्दै कडा अडान राख्न दाहाललाई भनेका थिए । दाहालले ओलीसँग २७ गते पार्टी बैठक बोलाउन प्रस्ताव गरेका थिए ।

‘अब धेरै ढिला गरेर हुँदैन, सबै विषय पार्टी बैठकमै बसेर छलफल गरौं । भोलि (बुधबार) तपाईं (प्रधानमन्त्री) उपत्यका बाहिरको कार्यक्रम सकेर आउनुहोस् । पर्सि बिहीवार चाहिँ बैठक बसौं,’ दाहालले ओलीसँग राखेको प्रस्ताव उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले अन्नपूर्णसँग भने ।

तर ओलीले दाहालको प्रस्तावमा सहमति दिइनसकेको श्रेष्ठको भनाइ छ । ‘हतार किन गर्नुपर्‍यो बैठकको, के गर्न खोज्नु भएको हो ? सहमतिमै बैठक बसौं, म बैठकका लागि तयार छु । महासचिवलाई पनि भनिसकेको छु । उहाँले पनि तयारी गरिरहनुभएको होला,’ ओलीले दाहालसँगको छलफलमा भनेका थिए ।

ओलीनिकट नेता संसदीय दलका उपनेता सुवास नेम्बाङले प्रधानमन्त्रीले महासचिवलाई निर्देशन गरिसकेकाले बैठकको तयारी भइरहेको बताए । ‘सचिवालयका केही साथीहरूले निवेदन दिनेबित्तिकै त्यही दिन उहाँले तोक लगाउनुभयो, महासचिवको नाममा बैठक बोलाउन विधानबमोजिम आवश्यक तयारी गर भनेर भन्नुभयो । त्यही प्रक्रिया अगाडि बढ्दै जाँदा महासचिवले बालुवाटारमा प्रधानमन्त्रीसँग सल्लाह गर्नुभयो । त्यसपछि खुमलटारमा गएर अध्यक्ष प्रचण्डसँग पनि सल्लाह गर्नुभयो । त्यसपछि फेरि बालुवाटार फर्किनुभयो आज (मंगलबार) त्यसपछि २ अध्यक्षको सल्लाह, कुराकानी भयो बैठक राख्ने भन्ने भएको छ । तर बैठक राख्नका लागि केही तयारी गर्नुपर्‍यो । त्यो तयारी गर्न महासचिवलाई भनिएको छ । महासचिवले बैठक डाक्नुहुन्छ,’ नेम्बाङले भने ।

उनले २ अध्यक्षको छलफल सकारात्मक दिशामै गएकोले सहमतिमै बैठकको टुंगो लाग्ने जनाए । ओलीसँगको भेटपछि दाहालले बैठक माग गरेका बहुमत सचिवालय सदस्यलाई पार्टी कार्यालय धुम्बराहीमा ओलीसँगको भेटका विषयमा बिफ्रिङ गरेका थिए । ‘५ जना हामी सचिवालयका सदस्यले प्रधानमन्त्रीलाई भेटेर लिखित रूपमा नै सचिवालय बैठक तत्काल बस्ने कुरामा सहमति जनाउन र बैठक बस्न अनुरोध गरेका थियौं । सोमवारसम्म हामीले बैठक बस्ला भनेर अपेक्षा गरेका थियौं । तर बैठक बसेन, बस्ने कुरामा प्रधानमन्त्रीले सहमति दिनुभएको छैन,’ प्रवक्ता श्रेष्ठले भने, ‘त्यसपछि मंगलवार कार्यकारी अध्यक्ष प्रचण्डले कमरेड केपी ओलीसँग भेट्नुभयो र त्यसबारेमा गम्भीरतापूर्वक छलफल गर्नुभयो । छिटोभन्दा छिटो बैठक बस्नुभन्दा अर्काे विकल्प छैन । ढिलो गर्नु हुन्न भनेर कुरा गर्नुभएको छ । बुधवार अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको उपत्यका बाहिर कुनै कार्यक्रममा जाने भन्ने योजना भएको स्थितिमा पर्सि २७ गते सचिवालयको बैठक बस्नुपर्छ भनेर बैठकमा सहमति गर्न र बैठकमा आउन अनुरोध गर्नुभएको छ ।’

श्रेष्ठले दाहालले ओलीसँग राखेको प्रस्तावअनुसार २७ गते प्रधानमन्त्रीको सहमतिकै आधारमा सचिवालय बैठक बस्ने आश सचिवालयका बहुमत सदस्यले गरेको बताए । ओलीले भने सहमति विना अगाडि जान खोजिए परिस्थिति नसोचिएको हुन सक्ने पनि बताए । ‘तपाईंहरू मिलेरभन्दा भिडेर जान खोज्नु भएको हो भने भिडौं । एक्सनमा मात्रै जान खोज्नुभयो भने मैले पनि भनेको छु म पनि महाएक्सनमा जान्छु तर त्यो स्थिति नआओस्,’ ओलीले दाहालसँग बालुवाटार छलफलमा भनेका थिए । – अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया