मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु (भिडिओसहित)

पर्सि सचिवालय बैठक बोलाउन ओलीलाई प्रचण्डको प्रस्ताव
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका छन् ।

कार्यकारी पदको उपयोग गर्दै आजै बैठक डाक्ने तरखर गरेका र थच्चिएका अध्यक्ष दाहालले पर्सि बिहीबार बैठक डाक्न प्रस्ताव गरेका हुन् ।

प्रचण्डको प्रस्तावमा ओलीले कुनै सहमत नजनाएको स्रोत बताएको छ । असन्तुष्ट पक्षले दिएको दुईदिने अल्टिमेटम पनि सोमबारै सकिएको र ओलीले कुनै तदारुकता नदेखाएको भन्दै आज डाकेको थियो ।

महासंघसँग सञ्चारमन्त्रीको आग्रह–‘मर्यादित पत्रकार मात्र सदस्य बन्नसक्ने गरी विधान संशोधन होस्’
‘सञ्चार कानूनमा अब मर्यादित पत्रकारिताको बुँदा पनि थप्छु’

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित पत्रकार मात्र सदस्य बन्नसक्ने गरी विधान नै संशोधन गर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन् ।

मिडिया एक्सन नेपालले काठमाडौंमा अयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गरेको मन्त्री गुरुङले यस्तो आग्रह गरेका हुन् । यस्तै मन्त्री गुरुङले मर्यादित पत्रकारिताको अभियान अगाडि बढाउन आवश्यक रहेको पनि बताएका छन् ।

पत्रकार बन्न निश्चित योग्यता जरुर हुनुपर्ने विचार राखेका मन्त्री गुरुङले सञ्चार कानूनमा मर्यादित पत्रकारिताको बुँदा थप्ने पनि बताएका छन् । मन्त्री गुरुङले सञ्चार गृह र पत्रकार के उद्देश्यले सञ्चार क्षेत्रमा प्रवेश गरेको र अहिले यो क्षेत्रमा के भइरहेको छ

भन्ने विषयमा गम्भीर रुपमा समीक्षा गर्ने बेला आएको समेत बताएका थिए ।

आजको कोरोना अपडेट : थप २२ जनाको मृत्यु, संक्रमित कति थपिए ?
नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृतकको संख्या ११ सय ४८ पुगेको छ ।
यस्तै गत २४ घन्टामा नेपालमा थप २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको कूल संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।

हालसम्म कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या ८ सय ५३ पुगेको छ । कूल संक्रमितमध्ये १ लाख ६० हजार ५७७ जना संक्रमणमुक्त भएका छन् । यसैबीच आजै मात्र काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय २० संक्रमित थपिएका छन् ।

सर्वोच्च अदालतले प्रमुख जिल्ला अधिकारीको सम्बन्धमा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले प्रमुख जिल्ला अधिकारीको सम्बन्धमा कारण देखाउ आदेश जारी गरेको छ ।

संविधानले जिल्ला तहलाई अधिकारविहीन बनाए पनि सरकारले साविकबमोजिम प्रमुख जिल्ला अधिकारीमार्फत् प्रशासन सञ्चालन गरेकोप्रति सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो ।

संविधान विपरीत राखिएको सिडियोलाई खारेज गर्ने विषयमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । अधिवक्ता रुद्र शर्माले संवैधानिक व्यवस्थाविपरीत जिल्ला तहको संरचना खारेजीको माग गर्दै गत २९ असोजमा रिट निवेदन दर्ता गरेका थिए ।

उक्त रिटमाथि सोमबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश राउतको इजलासले जिल्ला प्रशासन कार्यालय खारेज गर्नु नपर्ने कुनै आधार र कारण भए पनि १५ दिनभित्र पेश गर्न आदेश दिएको सर्वोच्चले जनाएको छ ।

अब कोरोना परीक्षण र उपचार निःशुल्क
सरकारले अब कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ । चौतर्फी आलोचना र दबाबपछि सरकारले कोभिड–१९ संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै यससम्बन्धी तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशनसमेत दिएको छ । यसअघि सरकारले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने निर्णय गरेको थियो । तर सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णयलाई सच्याएको हो ।

पुस्तकमा लगाइँदै आएको कर हट्यो
सरकारले पुस्तकमा लगाइँदै आएको कर हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गत आर्थिक वर्षदेखि जुनसुकै पुस्तक आयातमा १० प्रतिशतका दरले लगाइएको भन्सार महसुल हटाउने निर्णय गरेको हो ।

आर्थिक ऐन २०७७ को दफा १८ को उपदफा (१) बमोजिम मन्त्रिपरिषद्ले उक्त अधिकार प्रयोग गरी अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा पुस्तकमा लाग्दै आएको भन्सार महसुल हटाउने निर्णय गरेको हो ।

गत आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सबै प्रकारका पुस्तक आयात गर्दा अधिकतम खुद्रा मूल्यमा १० प्रतिशतका दरले भन्सार महसुल लाग्ने व्यवस्था गरेका थिए ।

बन्दना राणा नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघीय समिति (सीड)मा निर्वाचित
महिलाविरुद्ध सबै प्रकारका विभेद हटाउने सम्बन्धी महासन्धि सीडमा नेपालका तर्फबाट बन्दना राणा पुनः नियुक्त भएकी छन् ।
संयुक्त राष्ट्रसंघीय समितिमा राणा चालु कार्यसमितिमा पनि सदस्य छिन् । उक्त समितिमा राणा १३७ भोट ल्याएर विजयी भएकी हुन् । ११ सदस्यका लागि १९ देशले उम्मेद्वारी दर्ता गरेका थिए । तर, तीन देशले उम्मेद्वारी फिर्ता लिएपछि १६ देशबीच प्रतिस्पर्धा भएको थियो । उनीहरुलाई १८९ सदस्य देश मध्ये १८८ देशले मतदान गरेका थिए । राणाले तेस्रो बढी मत पाएकी हुन् । १ जनवरी २०२१ देखि नयाँ कार्यकाल शुरु हुनेछ ।

समितमा रहेर काम गर्ने उनी पहिलो नेपाली हुन् । राणाले तीन दशकदेखि लैंगिक समानता र महिला अधिकारको पक्षमा काम गर्दै आएकी छन् ।

नेप्से परिसूचक २५.९८ अंकले बढ्यो, ४ अर्बको कारोबार
आज नेप्से परिसूचक २५.९८ अंकले बढको छ भने कारोबार रकम समेत ४ अर्ब नाघेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज १.५७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १६७८.७९ अंकमा उक्लिएको छ ।

आज १ सय ९६ कम्पनीका ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २ सय ५६ रुपियाँ बराबरको कारोबार भएको हो ।

आईपीएल फाइनल आज
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ ।

सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स उपाधिका लागि भिड्ने छन् ।

फाइनल खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे युएईमा हुनेछ ।

ट्विटरबाटै रक्षामन्त्रीलाई बर्खास्त गरे ट्रम्पले
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्री मार्क एस्परलाई पदबाट हटाएका छन् । उनले ट्विटर मार्फत् एकजना उच्च अधिकारीलाई पदबाट “बर्खास्त” गरिएको घोषणा गरेका हुन ।

न्याशनल काउन्टर टेररीजम सेन्टरका प्रमुख क्रिस्टोफर मीलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने बताइएको छ । पछिल्ला केही हप्ताहरूमा ट्रम्प र एस्परबीच सार्वजनिक रूपमै फरक मत देखिन थालेको थियो ।

अमेरिकामा आगामी ज्यानुअरी २० मा बाइडनले पदभार ग्रहण गर्नु अघिसम्म ट्रम्पले निर्णय गर्न पाउने छन् ।

गत हप्ता मीलीटेरी टाइम्ससँगको अन्तर्वार्ताका क्रममा एस्परले ह्वाइट हाउससँग कठिन सम्बन्ध भए पनि राजीनामा दिनु सही काम नहुने आफ्नो विश्वास रहेको बताएका थिए ।

प्रतिक्रिया