ग्राहक नआउँदा विराटनगरका ब्यापारी टोलाएर बस्छन्

सुजता निङलेकू

विराटनगर । तिहार नजिकिँदै गर्दा आम मानिसमा भने उज्यालो पर्वको रौनक र उत्साह छैन । गत वर्षको तिहारको समयमा किनमेल साथै सामानको जोहो गर्न बजारमा थामी नसक्नुको भिडभाड भएपनि यो वर्ष आम मानिसमा किनमेलमा रुची छैन ।
कोरोना भाइरसका कारण स्वास्थ्यको जोखिमसँगै आर्थिक गतिविधि ठप्प हुँदा उज्यालो पर्व दिपावलीमा यसपटक खल्लो हुने देखिएको छ ।

विराटनगरको पुरानो गुद्रि बजारमा रहेको किरण ईलक्ट्रोनिक पसलमा गत वर्षको जस्तो भिडभाड छैन । पसलका सञ्चालक सन्तनु रेग्मीले यसवर्ष इलेक्टोनिक्स वत्तीहरुको विक्रि घटेको बताए । १४ वर्षदेखि विद्युतका सामग्री विक्रिवितरण गर्दै आईरहेका उनी भन्छन्–‘गतवर्ष जस्तो यो वर्ष बजारमा तिहार र छठको उत्साह छैन, यो साल ७० प्रतिशतले व्यवसाय ओरालो लागेकाले छ ।’

गतवर्ष ७० प्रतिशत घटाएर सामान (तिहारमा बालिने झिलिमिलि बत्ति) मगाएको उनको भनाई छ । सन्तनुका अनुसार मगाएको ३० प्रतिशत समानको पनि भनेजस्तो व्यापार छैन । लक्ष्मीपुजा भन्दा ४/५ दिन अगाडीदेखि नै किनमेलको चहलपहल हुने गरेकोमा यो वर्ष कोरोना संक्रमणले बजारमा चहलपहल छैन ।

विराटनगर बाहिर धरान, इटहरी लगायतका स्थानबाट तिहारमा बालिने बत्तिहरु किन्न आउने ग्राहकहरु यो वर्ष नआएको उनको भनाई छ । उनले भने–‘चीनबाट आउने विद्युतिय सामानहरु ३० प्रतिशत मात्रै भित्रिएका छन्, अरु पुरानो स्टक सामान ३० प्रतिशत बजारमा होला त्यो पनि विक्रि हुने सम्भावना कम छ ।’

विराटनगर मेनरोडका फुल व्यवसायी तपन मलिक कोरोनाले गर्दा व्यापार डामाडोल भएको भन्दै कुर्सीमा टोलाएर बस्नु विकल्प नरहेको जिकिर गर्छन् । उनी भन्छन्–‘कोरोनाले व्यापार ठप्प बनायो, गतवर्ष हात खाली थिएन । यो वर्ष कुर्सिमा टोलाएर दिन वितिरहेछ ।’

भारतीय सिमा नाका जोगवनी बन्द भएकाले भारतबाट भित्रिने फुलहरु विराटनगरमा आएका छैनन् । भारतीय फुल नहुँदा यो वर्ष फुलको मुल्य पनि महङ्गिने उनको भनाई छ । भारतको सिलिगुडी, कलकताबाट आउनुपर्ने फुलहरु सिमानाका बन्द हुँदा आउन सकेका छैनन् । काठमाडौंबाट थोरै मात्रामा आएको फुलले बजारको माग धान्न सक्ने अवस्था छैन ।

विराटनगर ११ का देव शाहको जीवन मोटोका भाँडो विक्रि वितरण गरेर नै वित्यो । दशकौं भयो उनले माटोबाट निर्मित दियो, खुत्रुके, कलश लगायतका सामान विक्रि गरेको । माटोका सामानहरु तिहार र छठ पर्वमा अत्याधिक माग हुने भएपनि यो वर्ष ग्राहक कुर्दै बस्नुपर्ने अवस्था सृजना भएको छ । ‘पहिले, पहिले तिहार नआउँदै ग्राहकको भिडभाड हुन्थ्यो, यो वर्ष कोरोनाले सबै व्यापार खायो’ उनी भन्छन् ।

माटोबाट बनेको दियो, कलश बेचेर ६० वर्षको उमेर पार गरेकी निलम शाहको पनि उस्तै अवस्था छ । ग्राहक कहिले आउला दियो, कलश बिक्रि गरौँ भनेर टोलाएर बसिरहेकी हुन्छिन् । ‘दिनभरीमा २/३ जना ग्राहक आउँछन्, कतिले किन्छन् कतिले सोध्दै फर्किन्छन् । यो पालि ग्राहक छैनन् ।’ सामान्य अवस्थामा दैनिक १० हजारसम्म बिक्रि हुने माटोको सामान यो वर्ष हप्ता दिनमा पनि ५ हजारको समेत नभएको माटोका सामान व्यापारीको भनाई छ ।

खाजाघर चलाउँदै आइरहेकी विराटनगर ११ की कविता दाहाल कमाई नहुँदा घरभाडा नै तिर्न समस्या भएको बताउँछिन् । ६ महिना लामो लकडाउनले उनलाई ऋण लागेको छ । यो वर्ष तिहारमा किनमेल गर्ने उनको योजना छैन । चिया, मम, चाउमिन लगायतका खाजा नास्ता बेचेर ४ जनाको परिवारको हेरचाह गर्दै आइरहेकी दाहालको खाजा घर चैत्र ११ गते देखिको लकडाउनले थलिएको थियो । लकडाउन, निषेधाज्ञा खुलेसँगै भर्खरै उनको पसल खुले पनि ग्राहक छैनन् ।

तिहारमा भाई टिका लगाउन उनका तीन दाजुभाई छन् । गतवर्ष मात्रै तीन जना दाजुभाईका लागि २० हजारभन्दा बढीको किनमेल गरेकी उनी यो वर्ष कोरोना संक्रमणका कारण माइतीघर झापा समेत नजाने मनस्थीति बनाएर बसेकी छन् ।

प्रतिक्रिया