‘क्षमता भएकाले श्रम गर्ने प्रणालीको विकास गरौँ, काठमाडौंमा भोकै बस्नु पर्दैन’

काठमाडाैं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ गरिखानेहरुका लागि सपनाको सहर भएको भएको बताएका छन् । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले यस्ताे बताएका हुन् ।

शाक्यले भने, ‘सडकमा कसैले मागेर खानुपर्ने अवस्था आयो भने उनीहरु सबैलाई व्यवस्थापन गर्ने दायित्व काठमाडौँ महानगरपालिकाको हो । हामीले त्यही जिम्मेवारी निर्वाह गर्ने कोसिस गरिरहेका छौँ । यस्तो अवस्थामा एकले अर्कालाई दोषारोपण गरेर भन्दा सहयोग गरेर लक्षित वर्गमा लाभ पुर्याउनुपर्छ ।’

खुलामञ्चमा नि:शुल्क खाना खुवाएको विषय सबैको सरोकार भित्र परेको भन्दै शाक्यले त्यसलाई व्यवस्थापन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । ‘मेरो जानकारी अनुसार करिब आधा दर्जन संस्थाले त्यहाँ नि:शुल्क खाना खुवाइरहेका छन् । सबैले एकै ठाउँमा खाना खुवाउन आवश्यक छैन । हामीले नि:शुल्क भोजनको व्यवस्था गरिरहेका संघ–संस्था र व्यक्तिलाई उहाँहरु र खाना खानेलाई पनि पायक पर्ने गरी फरक–फरक ठाउँमा बन्द स्थानको छनोट गर्नुहोस् भनेका छौँ ।’

ती ठाउँकाे भाडा भने महानगरले तिर्ने उनकाे भनाइ छ । उनले भनेका छन्- ‘त्यति मात्र होइन । खाना खुवाउन आर्थिक अभाव भयो भने हामी खाद्यान्नको व्यवस्थापन गर्न तयार छौँ । तर, यस्तो कोरोना कहरका बेला स्वास्थ्य मापदण्डको समेत ख्याल नगरी खुला ठाउँमा खाना खुवाउनु हुन्न भन्ने हाम्रो चाहना हो ।’

श्रम संस्कृतिको विकास गर्दै युवालाई श्रममा लगाएर जीवन निर्वाह गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाउँदै उनले बेसहारा र अशक्तको पनि महानगरले संरक्षण गर्ने बताए । खाना खुवाउनकै लागि विदेशी संस्था र स्वदेशबाट आर्थिक सहयोग उठाउनु पर्ने र चन्दा माग्नु पर्ने आवश्यकता नभएकाे उनकाे भनाइ छ ।

काेभिड बिरामीका लागि काठमाडौंमा आइसोलेसनको अभाव नरहेको बताउँदै उनले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको समन्वयमा उपत्यकामा ५ हजार बेडको एकीकृत आइसोलेन निर्माण गर्ने कुरा आफूले बोलेको स्मरण गराए । ‘यो विषयमा महानगरपालिकाले नै यो आइसोलेसन निर्माण गर्ने भनी समाचार प्रकाशन प्रसारणमा आएपछि केही भ्रम भएको छ । यथार्थ महानगर एक्लै होइन, उपत्यका सबै नगर संघ र प्रदेश सरकार मिलेर यो संख्या पुर्याउने हो’, उनले भने ।

उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका शाक्यले कोभिडका बेला उपत्यकाका १८ वटै नगरपालिकाकाले एक्लाएक्लै होइन समन्वयमा अघि बढ्नुपर्छ भनेर पटक–पटक योजना बनाई अघि बढेको पनि स्मरण गराए ।

त्यसक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफ्नो नगरपालिकाभित्र कुनै पनि संघ–संस्थाले समन्वय नगरी खुला स्थानमा नि:शुल्क खाना खुवाउने लगायतका गतिविधि गर्न नपाउने व्यवस्था गरेको भन्दै त्यहाँ समस्या नरहेको बताए । उनले कोभिडका बेला आफ्नो नगरपालिकाले गरेका गतिविधि बारे जानकारी दिएका थिए ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल प्रसाद श्रीवास्तवले अहिलेसम्म स्थानीय तहले गरेका काम सकारात्मक भए पनि थप समन्वय गरेर अघि बढ्दा अझ राम्रो हुने बताए । त्यसक्रममा पूर्वमन्त्री एवम् सांसद भीमसेनदास प्रधानले कोविड व्यवस्थापन गर्न वडालाई सशक्त बनाउँदै लानुपर्ने र संघ सरकारले गर्ने खर्च लक्षित समूहमा पुर्याउने संयन्त्र बनाउन आग्रह गरे । खुलामञ्चमा नि:शुल्क खाना खुवाउनेहरुलाई व्यवस्थापन गर्ने नाममा त्यत्तिकै छाड्न नमिल्ने भन्दै समन्वय गरेर स्थान तोकेरै खाना खुवाउने व्यवस्था गर्न आग्रह गरे ।

त्यसैगरी सांसदहरु विन्दा पाण्डे, अभिषेक प्रताप शाह, देवेन्द्र पौडेल, माया ज्ञवाली, सोमप्रसाद पाण्डे, एलपी साँवा लिम्बू, प्रकास रसाइली स्थानीय तहमा श्रम बजारको तथ्याङ्क अद्यावधिक गर्नुपर्ने बताए ।

श्रम मन्त्रालयका सहसचिवले स्थानीय तहका २ लाख बेरोजगारलाई बर्षको १ सय दिन रोजगारी दिने गरी करीब १० अर्ब रुपैयाँ विनियोजन गरेको बताए । त्यस्तै वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कोभिड १९ महामारीको मारमा परेका श्रमिकहरुको व्यवस्थापनका लागि मन्त्रालय र स्थानीय तहबीच निकट र तथ्याङ्कमा आधारित कार्यक्रम हुनुपर्ने बताए ।

प्रतिक्रिया