२४ घन्टामा प्रदेश १ मा ११ कोरोना संक्रमितको मृत्यु

विराटनगर । कोरोना महामारीका हटस्पट बन्दै गएको प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । विराटनगरको नोबेल अस्पतालमा ५ जना, कोसी अस्पतालको कोभिड अस्पतालमा २ जना, न्युरो अस्पतालमा एक जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जनाको मृत्यु भएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उदयपुर २ चौदण्डीगढीका ४२ वर्षिय पुरुषको कोरोना उपचारको क्रममा मृत्यु भएको छ । प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार कार्तिक १४ गते प्रतिष्ठानमा भर्ना भएका उनलाई कार्तिक १६ गते कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो । उनको गएराती १२ः३० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

होम आइसोलेसनमा रहेकी सुन्दरहरैंचा–७ की ७७ वर्षीया वृद्धाको मंगलबार बिहान मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट सोमबार पोजिटिभ आएको थियो । यस्तै, विराटनगर–३ का ८९ वर्षीय संक्रमित पुरुषको पनि होम आइसोलेसनमा सोमबार राति मृत्यु भएको छ ।

विराटनगरको न्युरो अस्पतालमा कटहरी गाउँपालिका–२ का ५० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको छ । निमोनियाको समस्याले कार्तिक २१ गते अस्पताल भर्ना भएपछि पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको अस्पताल प्रशासनले जनाएको छ ।

यता नोबेल अस्पतालमा रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्ध पुरुषको मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि २२ गते अस्पताल भर्ना गरिएका उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको अस्पताल प्रशासनले जनाएको छ ।

नोबेल अस्पतालमै झापाको गौरादह–५ का ६५ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । कोरोना पोजिटिभ देखिएर श्वासप्रश्वासमा समस्या आएपछि उनलाई कार्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो ।

यस्तै, नोबेल अस्पतालमै तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालले कोरोना पुष्टि भएपछि उनलाई कार्तिक २२ गते आइसोलेसनमा उपचार गर्दागर्दै मृत्यु भएको बताए ।

झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्धको पनि नोबेलमा मंगलबार बिहान मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई कात्तिक १५ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । यस्तै, नोबेल अस्पतालमै उदयपुरको त्रियुगा नगरपालिका ३ का २१ वर्षीय युवकको मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको छ । कोरोना रिपोर्ट पोजिटिभ आएपछि २२ गते अस्पताल भर्ना गरिएको थियो ।

कोसी अस्पतालको कोभिड अस्पतालमा सुनसरीको इटहरी उपमहानगर–५ की ६९ वर्षीया वृद्धाको मंगलबार बिहान मृत्यु भएको छ । कात्तिक १३ गते पीसीआर परीक्षण रिपोर्ट पाजिटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

कोसी कोभिड अस्पतालमै मृत्यु हुने अर्का विरामी विराटनगर ३ का ७७ वर्षीय वृद्ध छन् । उनको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । कोरोना पुष्टि भएर स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि २२ गते अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया