अन्तर्राष्ट्रिय निर्णायकमा लामा र थापा

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय निर्णायकद्वय नोर्बु लामा र हीराबहादुर थापाले २०२० वल्र्ड तेक्वान्दो एसिया अनलाइन पुम्से च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।

प्रतियोगिता नोभेम्बर ९ र १० तारिखमा हुने छ । प्रतियोगिताका लागि एसियाली तेक्वान्दो युनियनले उनीहरुलाई निर्णायकमा छनोट गरेको बताइएको छ । लामा दोश्रो तथा थापा तेश्रो श्रेणीका निर्णायक हुन् । लामाले यसअघि भएको २०२० वल्र्ड तेक्वान्दो एसिया अनलाइन ओपन पुम्से च्याम्पियनसिपमा पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

पाकानोन र चियानी उत्कृष्ट
काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा थाइल्यान्डका पाकानोन चान्चारान र सुरिनेमकी चियानी तिजिङहिनतोजी उत्कृष्ट खेलाडी भएका छन्। पाकानोन पुरुष र चियानी महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन्।

च्याम्पियनसिपमा पाकानोनले छात्र १२ वर्षमुनिको प्रतिस्पर्धामा स्वर्ण जितेका थिए। चियानीले भने महिला १४ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेकी थिइन्। उनीहरू अंकका आधारमा उत्कृष्ट खेलाडी घोषित भएका प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए।उत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही एक सय अमेरिकी डलर पुरस्कार पाउने छन्। पुरुषतर्फको पुरस्कारको प्रायोजन एभरेस्ट तेक्वान्दो एकेडेमी हङकङका संस्थापक रविनकुमार नाल्बोले गरेका छन्। यस्तै महिलातर्फको पुरस्कारको प्रायोजन होराइजन तेक्वान्दो संघ हङकङका संस्थापक देउकाजी गुरुङले गरेका छन्।

च्याम्पियनसिपको मोस्ट लाइक भिडियोको निर्णय भने आगामी शुक्रबार मात्रै गरिने प्रतियोगिता संयोजक घिसिङले जानकारी दिए। युट्युबमा सबैभन्दा बढी भ्यु प्राप्त भिडियोले मोस्ट लाइक भिडियोका रूपमा दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ।

च्याम्पियनसिपमा मलेसिया टिम च्याम्पियन बनेको छ। मलेसियाले ६ स्वर्ण, चार रजत र सात कांस्य जितेको थियो। यस्तै आयोजक नेपाल चार स्वर्ण, ७ रजत र १० कांस्य जित्दै दोस्रो भएको छ। मेक्सिकोले दुई स्वर्ण र एक रजत जित्दै तेस्रो स्थान हात पारेको छ।

च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। च्याम्पियनसिपमा नेपालका एक सय ९० र हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, सुरिनेम, थाइल्यान्ड, मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत, दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका एक सय ७१ खेलाडीले सहभागिता जनाएका थिए।

युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना गरिएको हो। च्याम्पियनसिपमा महिला र पुरुष गरी १८ उमेर समूहमा प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया