अलैँची प्रशोधन केन्द्र स्थापनाको पहल गर्छु : योगेश भट्टराई

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अलैंची प्रशोधन केन्द्र स्थापनाका लागि पहल गर्ने आश्वासन दिएका छन् । नेपालका पूर्वी पहाडी जिल्लामा प्रशस्त उत्पादन हुने अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्ने आश्वासन दिएका हुन् ।
अलैँची उत्पादन हुने जिल्लामा स्थानीयस्तरमा नै प्रशोधन केन्द्रको स्थापना गर्न सके जिल्लाबासी किसानलाई फाइदा पुग्ने उनको भनाइ छ । गृह जिल्ला ताप्लेजुङका विभिन्न गाउँपालिकाको भ्रमणका क्रममा रहेका मन्त्री भट्टराईले त्यहाँ आयोजित कार्यक्रमहरुमा अलैँचीका प्रशोधित सामग्रीले राम्रो बजार पाउने र रोजगारीको समेत सिर्जना हुने भएकाले यसतर्फ सरकारले विशेषरूपमा ध्यान दिने बताएका हुन् ।
ताप्लेजुङको ओलाङचुङगोला बाहेक जिल्लाका सबै क्षेत्रमा अलैँची खेती गरिँदै आएको छ भने प्राय किसान यसैको भरमा छन् । पछिल्ला वर्ष अलैँचीले राम्रो मूल्य नपाँउदा किसानलाई समस्या छ । मन्त्री भट्टराईले ग्रामीण क्षेत्रमा सहज यातायातका लागि जिल्लाका सबै पालिकासम्म पुगेका सडकलाई आगामी दुई वर्षमा कालोपत्रे गर्ने बताएका छन् ।
सहज यातायात नहुँदा स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरणमा समस्या हुनुका साथै सर्वसाधारणले समेत यातायातको भरपर्दो सुविधा उपभोग गर्न नपाएको भन्दै उनले सडक कालोपत्रे हुने बताएका हुन् । यसले पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुग्ने उनको विश्वास छ । मन्त्री भट्टराई कात्तिक २८ गतेसम्म गृह जिल्लामै रहने छन् ।









