१२औँ जनगणना २०७८ : नेपालको अनुमानित जनसंख्या ३ करोड, ७० लाख घरपरिवार

काठमाडाैं । नेपालकाे १२औँ जनगणना २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुँदैछ । यस पटकको जनगणना राष्ट्रिय अभियानलाई ‘मेरो गणना, मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८’ भन्ने मूल नारा तय गरिएको छ ।

चालु आवमा जनगणना सक्ने लक्ष्यका साथ जनगणना सञ्चालनका लागि तयारीका काम अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाटै शुरु गरिएको थियो । एक दशकपछि हुन लागेको राष्ट्रिय जनगणनामा नेपालको जनसंख्या ३ करोड र परिवारको संख्या ७० लाख परिवार हुने प्रारम्भिक अनुमान गरिएको छ ।

जनगणना गर्ने प्रमुख निकाय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले साेमबार आयोजित एक कार्यक्रममा प्रारम्भिक अनुमानका आधारमा उक्त तथ्यांक निकालिएकाे जानकारी दिए । महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार जनगणनामा ४३ हजार गणक र ९ हजार सुपरिवेक्षक कर्मचारीबाट तथ्यांक संकलन गरिँदै छ । जनगणनामा पहिलोपटक घर स्वामित्वसम्बन्धी विस्तृत तथ्यांक संकलन गर्न लागिएको पनि उनले जानकारी दिए ।जस अनुसार घरको स्वामित्व, प्रयोग, संचरनाबारे तथ्यांक संकलन गरिनेछ ।

यस जनगणनामा विदेशमा रहेका परिवारमा अनुपस्थित व्यक्तिको विवरण, आर्थिक काम, पेशा र वस्तु वा सेवाको उत्पादन अनुसारको विवरण समेत संकलन गर्ने उनले जानकारी दिए । त्यस्तै व्यक्तिको काम गर्दाको हैसियत, संस्थागत क्षेत्र, काम नगर्नुका कारण र कामको खोजी बारेमा पनि तथ्यांक संकलन गरिनेछ ।

प्रतिक्रिया