सहयाेग मागेपछि नेपालले ओलीलाई सोधे– एकता जोगाउने प्रस्ताव के छ ?

काठमाडाैं । आज (आइतबार) बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीमा उठेका विवादबारे छलफल भएकाे छ ।
केही दिनयता नेताहरुबीचको विवाद फेरि चर्किएपछि तथा अध्यक्षबीच कुरा नमिलेपछि आज आइतबार ओलीले वरिष्ठ नेता नेपाललाई छलफलका लागि बोलाएका थिए । झण्डै साढे दुई घण्टा लामो छलफलमा वरिष्ठ नेता नेपालसहित स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त उपस्थित थिए । प्रधानमन्त्रीकाे तर्फबाट भने उनी एक्लै थिए ।
छलफलका क्रममा प्रम ओलीले नेता नेपालसँग पार्टी फुटकाे संघारमा पुगेकाे भन्दै सहयाेग मागेका छन् । भेटमा प्रधानमन्त्रीले मिर्गाैला प्रत्याराेपणपछि आफू झन् स्वस्थ भएकाे, फुलेका जुँगा कालो हुन थालेको, काम गर्ने जाेश जाँगर बढेकाे समेत बताएका छन् । साथै उनले तत्काल पार्टीको सचिवालय बैठक बोलाउन आफू तयार नभएको पनि बताएका छन् । बैठकमा छलफल हुने विषय पहिले टुङ्गो नगरेसम्म बैठक नराख्ने ओलीकाे भनाइ छ ।
नेता नेपालले भने पार्टी एकता जोगाउनका लागि प्रधानमन्त्रीका तर्फबाट प्रस्ताव के छन् राख्न आग्रह गरेका थिए । छलफलमा सहभागी अन्य सदस्यहरूले प्रधानमन्त्री अध्यक्ष समेत रहेकाे हुँदा उनले नै लचिलाे भएर सबैलाई समेटेर लैजानुपर्ने तथा एकलाैटी ढंगले अघि बढ्न नसकिने लगायतका सुझावहरू राखेकाे छलफलमा सहभागी एक नेताले बताए ।
यसअघि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग असोज ४ गते र ११ गते वान टु वान भेटवार्ता गरेका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विवाद बढेसँगै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग सहकार्यको प्रयास गरेपछि ओलीले नेता नेपालसँग सहयाेग मागेका हुन् ।








