दुई अध्यक्ष कमरेडको ‘बालहठ’ [टिप्पणी]

 

  • धनबल राई

काठमाडौं । कुनै घरमा दुई जना झगडिया बच्चाहरु छन् भने उनीहरुले आफ्ना आमा–बुबाको ध्यान आफूतिर खिच्न एक आपसमा भएको साना–तिना कुराहरुलाई ठूलो रुपमा औंल्याउँछन् र आफू आमा–बुबाको नजरमा माथि पर्न आफ्नो बलबुत्ताले भ्याएसम्म जोड गर्छन् । ठ्याक्कै यही ‘हाईरार्की’ देखिन्छ, अहिले सरकारको बागडोर सम्हालिरहेको दल नेपाल कम्युनिष्ट पार्टीभित्र । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि जनताको नजरमा आफू माथि पर्ने अनौठो प्रतिष्पर्धा चलेको छ । उनीहरुको रात आफू कसरी ऊभन्दा शक्तिशाली बन्ने भनेर सोच्दै जान्छ त दिन आफूनिकटका नेताहरुसमक्ष एकअर्काको खोइरो खन्दै जान्छ । आपसमा मिली जनताको सेवामा खटिने प्रण गरेर सत्ताको मैदान उक्लिएका उनीहरुले कुर्सीको अद्धितीय खेल खेल्नाले बेफुर्सदीला देखिन्छन् ।

दुई अध्यक्षबीचको घोचपेच र आरोप प्रत्यारोपको शृङ्खला झनै चुलिँदो छ । कारक तत्वको रुपमा अधिकांश नेता/कार्यकर्ताहरुले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई लिने गर्दछन् । त्यसो त कहिलेकाहिँ कार्यकारी अध्यक्षको संज्ञा पाएका दाहालले पनि ‘म पनि के कम’को आभाष दिलाउँछन् । तत्कालीन एमाले र माओवादीबीच गठबन्धन भएर बनेको नेकपाको ताल शुरुदेखि नै यस्तै देखिँदै आएको सत्य हो ।

आफूनिकतका नेतालाई वरीपरी राखेर अध्यक्ष कमरेडले यस्तो भन्नुभयो, उस्तो भन्नुभयो भनेर फेहरिस्त सुनाउन अहिले दुई अध्यक्षको दैनिकी बनेको छ । दुई अध्यक्षको यो ‘बालहठ’सँग जनता जानकार मात्रै छैनन् कि, उनीहरुको ‘बालहठ’ बाट दिक्क पनि भइरहेका छन् । ‘अध्यक्ष कमरेडले पार्टी फुटाऔँ भन्नुभयो’ भन्ने सन्देश आफ्ना नजिकका नेताहरुलाई दुवै अध्यक्षले सुनाएको सञ्चारमाध्यममार्फत् सार्वजनिक भयो । यसलाई अध्यक्षद्वयको ‘परिपक्वता’ नभएर ‘बालहठ’ भएको राजनीतिक विश्लेषकहरुको ठम्याइँ छ । हुन त नेकपाभित्रको शीर्ष नेतृत्वमा देखिएको टकराव/मनमुटाव नौलो हुँदै होइन । यो विवाद ‘घिनघिने व्यथा’ हो ।

नेताले जनताका लागि गर्नुपर्ने सत्य भए पनि नेकपाका नेताहरु आपसी कलहमा उत्रिएका छन् । नेताहरुबीचको झगडाले  आफ्नो चुल्हो चिसिएको कारण जनता आफूले आफैँलाई धिक्कारिरहेका छन्, कस्तालाई सत्ताको बागडोर दिइएछ भनेर ।   नेकपाभित्र अनावश्यक रुपमा हुने यस्ता खालका विवादलाई नेकपा शीर्ष नेतृत्वबाटै ‘कम्युनिष्टहरुको निरन्तर संघर्ष’को संज्ञा दिइएपनि यसको असर जनतामा पर्नाले स्वयम् नेतृत्वदायी भूमिकामा रहेका नेतृत्वको असक्षमता झल्किने गर्छ ।

त्यसो त दुवै अध्यक्षसँग झगडा गर्ने र पुनः मिलिहाल्ने सार्मथ्य चाहिँ छ । कारण यो होकि–‘उनीहरु यो कुरामा सचेत छन् । पार्टी फुटेको वा पार्टीभित्र कुनै ठूला दुर्घटना निम्तिए थालमा पस्किएको भात पनि खोसिन्छ ।’ एक आपसमा बाझ्ने र नाटकीय रुपमा मिल्ने अनौठो प्रवृत्तिलाई जनताले ‘नाटक’को रुपमा उहिल्यै बुझिसकेका छन् । अहिले ओली र दाहालबीचको कलह पनि नाटक नै पो होकी ?

नेपालमा ‘राजनीतिक निर्लज्जता’ यति बढ्यो कि, पञ्चायत कालमा पञ्चहरू एक आपसमा नमिलेजस्तो देखिए पनि कम्तीमा पञ्चायत र पञ्चायती सिद्धान्त जोगाउने कर्तव्यबाट कहिल्यै टाढिँदैनथे । तर, नेकपाका नेताहरू यतिसम्म तल झरेर मान, प्रतिष्ठा, इज्जत, सिद्धान्त र विधि भुलेर लाजलाई पनि पचाउने भइसके ।

नेकपाभित्रको अहिलेको किचलोको जडका रुपमा ‘कर्णाली प्रदेशको अविश्वासको प्रस्ताव’मात्र हैन । त्यसपछि सिर्जित अवस्थाले नै ‘आ–आफ्नो बाटो लागौं’ सम्मको अवस्था सृजना भएको कतिपपय नेताहरुको विष्लेषण छ । खासगरी, मोदीका ‘दूत’ रअका प्रमुखसँगको ओलीको भेटका कारण पनि नेकपामा कलहको बिउ मौलाएको विश्लेषकहरुको धारणा छ ।

नेकपाका दुई अध्यक्ष यो ‘बालहठ’बाट माथि उठेर आफ्नो चुनावी घोषणापत्रमा केन्द्रित भएको भए मुलक र जनताका लागि केही फलदायी त पक्कै हुने थियो । तर, ‘कुकुरको पुच्छर बाह्र बर्ष ढुङ्ग्रोमा हाले पनि जस्ताको तस्तै’ भने जस्तो जतिसुकै गरेपनि नेकपाका नेताहरुको बुद्धि जस्ताको तस्तै हुने भयो ।

प्रतिक्रिया