ओली अल्पमतमा परेको बखत बाँस्कोटाको प्रस्ताव : ‘नेकपा सचिवालय पुनर्गठन गरौँ’

काठमाडौं । सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेकपा सचिवालय पुनर्गठन गर्नुपर्ने प्रस्ताव गरेका छन् । नेकपाभित्र चर्को विवाद चुलिएपछि नेकपा सचिवालयभित्रै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली अल्पमतमा परेको बेला ओलीनिकटका सांसद बाँस्कोटाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस्तो प्रस्ताव राखेका हुन् ।

यस्तै बाँस्कोटाले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण र नेतृत्व विवाद अन्त्यका लागि पनि सचिवालयमा नयाँ पुस्ताको बाहुल्यता हुनेगरी पुनर्गठन हुनुपर्ने उल्लेख गरेका छन् ।

बाँस्कोटाले लेखेका छन्, ‘नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहने गरी सचिवालयको पुनर्गठनबाट शुरु गरौँ । कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खत्तम ।’

अहिले नेकपाभित्र विवाद चुलिँदो छ । खासगरी, ओलीको कार्यशैलीका कारण विवाद चर्किएको दाहाल–नेपाल खेमाको दावी छ । शनिबार (हिजो) मात्रै पनि नेकपा सचिवालयका बहुमत सदस्य (प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ)ले तत्काल बैठक बोलाउनुपर्ने भन्दै लिखित माग गरेका छन् ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने कुनै जवाफ नदिएको नेकपा प्रवक्तासमेत रहेका सदस्य श्रेष्ठले जानकारी दिएका छन् । अहिलेको नेकपा सचिवालय ९ सदस्यीय छ । जहाँ, अहिले ५ सदस्य असन्तुष्ट छन् ।

प्रतिक्रिया