अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेन को हुन् ?

काठमाडौं । अमेरिकाको ४६ औँ राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन् । रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन राष्ट्रपति निर्वाचनमा विजयी भएका हुन् ।

अमेरिकी सञ्चार माध्यमहरूका अनुसार पेन्सलभेनिया राज्यको मतगणना सकिएसँगै बाइडेनका लागि ह्वाइट हाउस प्रवेशको बाटो खुलेको हो । बीबीसीले गरेको प्रक्षेपण अनुसार उनले यो महत्त्वपूर्ण राज्यमा जित हासिल गरेपछी उनीसँग २७३ इलेक्टरल कलेज मत हुनेछ जुन जितका लागि आवश्यक २७० मत भन्दा बढी हो ।

यो जितसँगै बाइडेन पछिल्ला तीन दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिलो उम्मेदवार भएका छन् । विजयी हुने प्रक्षेपणपछि बाइडनले एक विज्ञप्तिमा भने- ‘मलाई र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसप्रति अमेरिकी नागरिले देखाएको विश्वासले मैले सम्मानित र धन्य महसुस गरेको छु ।’तर, ट्रम्पले अझै पनि यो नतिजालाई स्वीकार गरेका छैनन् । यो नतिजाले ट्रम्पलाई सन् १९९० यता पहिलो एक कार्यकालमात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनाएको छ ।

आफ्नो भर्जिनिया रिसोर्टमा गल्फ खेल्दै गरेका ट्रम्पले वक्तव्यमा निर्वाचन नसकिएको प्रतिक्रिया दिएका छन् । ‘किन जो बाइडन विजेताको रूपमा गलत घोषणा गर्न र किन सञ्चारमाध्यम उनलाई सहयोग गर्न प्रयास गरिरहेका छन् भन्ने सबैलाई थाहा छ: उनीहरू सत्य बाहिर ल्याउन चाहँदैनन्,’ लिखित विज्ञप्तिमा भनिएको छ ।

को हुन् त जो बाइडन ?
बाइडनको वाशिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो जब उनी अमेरिकी सिनेटका सदस्य बनेका थिए । अनि उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९८७ मा भएको थियो ।

उनी मतदातालाई आकर्षित गर्न सक्ने स्वाभाविक नेता हुनुका साथै कुनै पनि बेला गलत वाक्य बोल्न सक्ने नराम्रो गुण भएका मानिस पनि हुन् । भिडका सामुन्ने बोल्दाबोल्दै चिप्लिँदा उनको पहिलो प्रचार अभियान सुरु हुनुभन्दा पहिल्यै खेर गएको थियो ।

                         जो बाइडनले राजनीतिमा पहिलो पाइला चाल्दा अहिलेका कैयौँ मतदाता जन्मिएका पनि थिएनन्

२००९ देखि २०१७ सम्म उपराष्ट्रपति
बाइडेन सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपतिको जिम्मेवारीमा थिए । बाइडेनसँग राजनीतिको लामो अनुभव छ भने उनी विदेशनीतिका ज्ञाता हुन् । उनलाई प्रखर वक्ता राजनीतिज्ञका रूपमासमेत चिनिन्छ । उनी स्वभावैले सामान्य नागरिकसँग घुलमिल हुन सक्ने र सहज व्यक्ति भएको बताइन्छ ।

७८ वर्षमा राष्ट्रपति चुनिएका बाइडेनले राजनीतिमा पहिलो पाइला चाल्दा उनलाई मतदान दिएर जिताउने कयौं मतदाता जन्मिएका थिएनन् । उनलाई मतदान गरेर राष्ट्रपति निर्वाचित गर्ने उनको पुस्ता कमैमात्र होलान् ।

पहिलो पटक सिनेटको सदस्यको रुपमा उनी १९७३ मा वाशिङ्टन पुगेका थिए । आजभन्दा ४७ वर्षअघि वासिङ्टनसँग जोडिएको नाता आज अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा विकास भएको छ ।

                 सन् २००९ देखि २०१७ को बीच बाइडन बराक ओबामाका उपराष्ट्रपति थिए

उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९८७ मा भएको थियो । बाइडेन योजनाबद्ध रूपमा तौलिएर बोल्ने राजनीतिज्ञहरूको भिडमा एक वास्तविक मानिसजस्तो देखिन्छन् ।​ बाल्यकालमा भकभकाउने समस्या स्मरणमा रहेकाले आफूले पढेर बोल्नुका साटो मनका कुरा बोल्न रुचाउने उनले बताएका छन् ।​

सात पटक सिनेटर
बाइडेनले अमेरिकी सिनेटका चुनाव सात पटक जितेका छन् । उनी सधैभरी कामदार तथा मजदुर वर्गलाई आफ्नो स्वतःस्फूर्त भाषणमार्फत् तरङ्गित पारिदिन सक्छन् । ​

बाइडेनसँग वाशिङ्टनको धेरै लामो अनुभव छ। सिनेटमा तीन दशकभन्दा धेरै अनि ओबामाको उपराष्ट्रपतिको रूपमा आठ वर्ष। करिब ५० वर्षदेखि उनी अमेरिकाको उच्चस्तरको राजनीतिमा संलग्न छन् ।

                                  बाइडनले अमेरिकी सिनेटका चुनाव सात पटक जितेका छन्

२०२० मा मात्र होइन बाइडेन सन् १९८७ मा पहिलो पटक राष्ट्रपति पदका निम्ति आकाङ्क्षी बनेका थिए । अमेरिकाका हरेक महत्त्वपूर्ण घटनाक्रममा बाइडेन संलग्न छन् या त त्यसबारे केही टिप्पणी गरेका छन् । सन् १९७० मा सार्वजनिक विद्यालयहरूमा जातीय एकता कायम गराउन बालबालिकालाई अन्य इलाकामा बसबाट पुर्‍याउन भनी गरिएको निर्णयको विरोध गरिरहेका दक्षिणी क्षेत्रका समूहको समर्थनमा बाइडेन उभिएका थिए ।

उनी विगतमा सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्ष थिए। आफ्नो ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतालाई भेटेको उनले दाबी गर्ने गर्छन् । सन् १९९१ मा उनले पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा चाहिँ इराक अतिक्रमणको समर्थन गरेका थिए ।

अलि सतर्क रहन रुचाउने बाइडेनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएका थिए । अब उनको खास परीक्षा अमेरिकी राष्ट्रपतिको रुपमा हुँदैछ । –एजेन्सीको सहयोगमा

प्रतिक्रिया