थाइल्यान्डका पाकानोनलाई स्वर्ण

काठमाडौं । थाइल्यान्डका पाकानोन चानथाराङ्सीले ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । शनिबारबाट सुरु भएको च्याम्पियनसिपको छात्र १२ वर्षमुनिको स्पर्धामा पाकानोनले स्वर्ण जितेका हुन् । उनले भारतका देवासिस दासलाई पछि पारे । यस स्पर्धामा मलेसियाका बालाजी तेक्वान्दो स्कुल र मकाउका वाई हाङ चानले कांस्यमा चित्त बुझाए ।

यसैगरी छात्र १० वर्षमुनिको समूहमा मलेसियाका मोहमद अरिफिन अस्नावीले पहिलो स्थान हात पारे । यस समूहमा अरिक रानाले रजत जित्दा श्रीलंकाका पुमिदु देनुका पाथिराना र नेपालका सुवान गुरुङले कांस्य पदक पक्का गरे । छात्राको १० वर्षमुनिको स्पर्धामा श्रीलंकाकी थिनुमी भिशास्नाले स्वर्ण पदक जितिन् । उनले मलेसियाकी नुर अयर अब्दुल्लालाई पछि पारिन् । नेपालकी प्रतीक्षा राना र मलेसियाकी सोभिना मेइ सासौले कांस्य पदक जिते ।

यसैगरी छात्रा १२ वर्षमुनिको समूहमा मलेसियाकी जोसेफिन चिन जियाले स्वर्ण जितिन् । उनले मेक्सिकोकी क्लाइरे फ्लोरेस चापालाई पछि पारिन् । मलेसियाकी इरिस नुर युसुफ र थाइल्यान्डकी रावी मोनानीले तेस्रो स्थानमा चित्त बुझाए ।

दुई दिने च्याम्पियनसिप नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरे । उनले अहिलेको विषम् परिस्थितिमा पनि खेलकुदलाई चलायमान बनाउन च्याम्पियनसिपले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य नन्दा बस्याल, च्याम्पियनसिपका संयोजक कुमार लामा घिसिङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा राखेप बोर्ड सदस्यमा नियुक्त भएकी बस्याललाई सम्मान पनि गरिएको थियो ।

च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । च्याम्पियनसिपमा नेपालका एक सय ९० र हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, सुरिनेम, थाइल्यान्ड मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका एक सय ७१ खेलाडीले सहभागिता जनाएका छन् ।

युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना हुन लागेको हो । च्याम्पियनसिपमा यू–१०, यू–१२, यू–१४, यू–१७, यू–२१, यू–२९, यू–४०, यू–५० र ५० वर्षभन्दा माथिका उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । महिला तथा पुरुषका लागि एउटै उमेर समूह निर्धारण गरिएको छ । हरेक उमेर समूहका लागि पुम्सेका छुट्टाछुट्टै बिधा तोकिएको छ ।

च्याम्पियनसिपका उत्कृष्ट महिला तथा पुरुष खेलाडीले एक सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन् । युट्युवमा सबैभन्दा बढी भ्यु प्राप्त भिडियोले मोस्ट लाइक भिडियोका रुपमा दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छ ।

लाखे सम्मानित
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य पुरेन्द्रविक्रम लाखे शनिबार सम्मानित भएका छन् । डोजोका पूर्व सल्लाहकार लाखेलाई राखेपको सदस्य पदमा नियुक्त भएकोमा सम्मान गरिएको हो ।

ललितपुर जिल्ला कराते महासंघका अध्यक्ष सानुलाल श्रेष्ठ, डोजोका संस्थापक मुख्य प्रशिक्षक एवं संरक्षक मिनकृष्ण महर्जन, डोजोका अध्यक्ष समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले लाखेलाई खादा र पुष्पगुच्छा प्रदान गरी बधाइ दिनुका साथै सम्मान गरे ।

खेलाडीका रुपमा लाखेको मुख्य उपलिब्ध नेपालमै १९९१ मा भएको शिखर एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जित्नु हो । लाखे दोश्रो पटक राखेपको सदस्यमा नियुक्त भएका हुन् । २०६३ सालमा पनि लाखे राखेपको सदस्यमा थिए ।

प्रतिक्रिया