‘माग पूरा नभए देशव्यापी आन्दोलन गर्छौँ’

काठमाडौँ । संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासङ्घ, नेपालले अघि सारेका मागहरू सरकारले पूरा गर्नुपर्नेमा जोड दिएको छ । आज (शनिवार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासङ्घका पदाधिकारीहरूले आफूहरूले अघि सारेका माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
महासङ्घले पछिल्लो समय गरेका विभिन्न गतिविधिको बारेमा जानकारी दिने क्रममा सरकारसमक्ष आफ्ना माग पूरा गर्न दबाब दिएको हो । भारतीय पेन्सनरहरुका समस्याको लागि भारत सरकारसँग विभिन्न तहमा छलफल, पत्राचार, भेटघाट भइरहेको हाल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमणमा भेट गरी समस्याहरूका बारेमा जानकारी गराउँदा सेनाध्यक्ष नरवणेबाट सकारात्मक प्रतिबद्धता आएको समेत जनाएको छ ।
त्यस्तै, नेपाल सरकारबाट दिँदै आएको सामाजिक सुरक्षा भत्तामा खास गरी भूपूहरुलाई लक्षित गरी बन्द गरिएकोमा सरकारलाई सचेतना, दबाबमूलक केही कार्यक्रमहरू गरिरहेको र त्यसलाई वारपारको हिसाबमा लैजान प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइएको र केही क्षण प्रतीक्षा गर्ने र सकारात्मक नदेखिए देशव्यापी आन्दोलन गर्ने निर्णय गरिएको महासङ्घले चेतावनी दिएको छ ।
नेपाल, भारत, ब्रिटिस सरकारको संयुक्त लगानीमा पुलचोकको कल्याणकारी भवन तथा जमिन केही व्यक्ति विशेषबाट अतिक्रमण भइरहेकोले समझदारीबाट मेलमिलापमा नआएमा कानुनी बाटो अपनाउने निर्णय गरिएको पनि महासङ्घले स्पष्ट पारेको छ । र, भारत सरकारद्वारा दिन खोजिएको सिएसडी सुविधामा पनि नेपाल सरकारबाट स्वीकृति नपाएकोमा स्वीकृतिको लागि नेपाल सरकारलाई अनुरोध गरिने जनाइएको छ ।
कार्यक्रममा महासङ्घका अध्यक्ष कर्णेल धन बहादुर थापाले पत्रकार सम्मेलनमा उठेका विषयमा जवाफ दिएका थिए भने कार्यक्रममा महासङ्घका पूर्वाञ्चल इन्चार्ज सुबेदार मेजर किशोर कुमार राईले भारत सरकारद्वारा दिन खोजिएको सिएसडीको बारेमा व्याख्या गरेका थिए । सिएसडीको बारेमा नेपाल सरकारले आनाकानी गर्न नहुने भन्दै यसले आम नेपाली नागरिकलाई प्रत्यक्ष फाइदा हुने उनको भनाई थियो ।
कार्यक्रममा नेपाल भूतपूर्व सैनिक सङ्घका अध्यक्ष कर्णेल धनबहादुर मास्के रानाले आफूहरूले अघि सारेका जायज मागहरू सरकारले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । उनले सरकारले आफूहरूलाई बेवास्ता गर्न नहुने धारणा राखे । उनले भने,‘सरकारले हामीलाई त्यो अनागरिकसरह दर्जा दिने कोसिस गर्यो भने ठिक हुँदैन । हाम्रा विनम्र अनुरोधलाई सरकारले स्विकार्नुपर्छ । सम्बोधन गर्नुपर्छ ।’
महासङ्घका महासचिव सुबेदार कुलबहादुर केसीले भूपूहरुबाट आउने रेमिट्यान्सको बारेमा प्रकाश पारेका थिए । भारतबाट मात्रै भूपूहरुबाट प्रति महिना भारु २० करोडभन्दा बढी र हाल सेवारतबाट भारु ३० करोड रेमिट्यान्स आउने गरेको उनले बताए । त्यस्तै, ७ देखि ८ करोड बेलायतबाट आउने गरेको उनले जनाए । केसीले आफूले सुरुदेखि नै अवकाशप्राप्त कर्मचारीहरूलाई सामाजिक सुरक्षा भत्ता दिनुपर्ने आवाज उठाउँदै आएको सुनाउँदै सरकार यसप्रति गम्भीर हुनुपर्नेमा जोड दिए । अन्य देशमा पनि दिईएको उनले सुनाए ।
भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणको क्रममा आफूहरूले नेपालमा बार मेमोरियल बनाइदिनुपर्ने प्रस्ताव राखेको र त्यसमा जनरल नरवणे सकारात्मक भएको र जमिनको व्यवस्था भए भारु ७ करोड उपलब्ध गराउने पनि प्रतिबद्धता जनाएको केसीले स्पष्ट पारे । उनले भने,‘उहाँले जमिन तपाईँहरूले खोज्नुहोस् भन्नुभयो, हामीले बुटवलको सुनौलमा जमिनको व्यवस्था गरिसकेका छौँ ।’








