काष्ठमण्डप बैशाख १२ गते उद्घाटन गर्ने तयारी, परराष्ट्रमन्त्रीले गरे अवलाेकन

काठमाडौं । ऐतिहासिक काष्ठमण्डप बैशाख १२ गते उद्घाटन हुने भएको छ । २०७२ साल बैशाख १२ गते गएको शक्तिशाली भुकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डप सोही दिन उद्घाटन गर्ने तयारी भएको हाे ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काष्ठमण्डप ध्वस्त भएकै मितिमा उद्घाटन गरिने जानकारी दिए । आज दिउँसो शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसँग काष्ठमण्डप पुननिर्माणको प्रगतिको बारेमा जानकारी लिन बसन्तपुर दरबारक्षेत्र पुगेका मन्त्री ज्ञवालीले बैशाख १२ गते उद्घाटन गर्ने जानकारी गराएका हुन् ।
काष्ठमण्डप पुनःनिर्माणको अवस्थाबारे जानकारी लिँदै परराष्ट्रमन्त्री ज्ञवालीले हालसम्मको प्रगतिको खुलेर प्रशंसा गरेका थिए । ‘काष्ठमण्डपको पुनर्निर्माणकाे अवस्था देख्दा स्थानीय जनता सहितको सहभगितामा सम्पदा निर्माणमा नमुना स्थापित भएको देखेको छु,’ उनले भने ।
‘मौलिक परम्परालाई जोगाएर तीव्रताका साथ काम भएको देख्दा सरकारको तर्फबाट मैले धन्यवाद दिनैपर्छ, यस्ता सम्पदा पुनर्निर्माण स्थानीय जनताको सहभागिता मुख्य देन हो’, उनकाे भनाइ थियाे । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काष्ठमण्डप क्षतिग्रस्त भएको दिन बैशाख १२ गते १२ बजे नै उद्घाटन गर्ने गरी तयारी भइरहेकाे बताए ।

स्थानीयको समेत सहभागितामा काष्ठमण्डप पुननिर्माण समिति मार्फत पुनःनिर्माण गर्न शुरुदेखि नै पहल थालेकाे मन्त्री श्रेष्ठले हालसम्मको प्रगति देखेर खुसी व्यक्त गरे । उनले भनेे–‘हनुमानढोका दरबारक्षेत्र लगायत देशका महत्वपूर्ण सम्पदा पुनःनिर्माण गर्दा स्थानीयलाई सहभागिता गराउनु आवश्यक छ ।’
उनले काष्ठमण्डप पुननिर्माण समितिले गरेको कामको प्रशंसा गर्दै तोकिएकै समयमा सम्पन्न गर्नु मुख्य दायित्व रहेको पनि बताए । भने–‘हामीले मिति घोषणा गरिसकेका छौ, सोही आधारमा तयार थाल्न आग्रह गर्छु ।’
काष्ठमण्डप पुननिर्माण समितिका संयोजक एवं वागमती प्रदेश सांसद राजेश शाक्यले केही प्राविधिक समस्या आएपनि तोकिएकै समयमा पुननिर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । भने–‘हामीले एतिहासिक जिम्मेवारी पाएका छौ, त्यसलाई पुरा गर्नेछौ । यो हाम्रो मुख्य कर्तब्य हो ।’
उनका अनुसार काष्ठमण्डप पुननिर्माण सम्पन्न गर्न करिब १३ करोड रुपियाँ लाग्नेछ । सरकारको तर्फबाट पुननिर्माण गर्दा करिब १९ करोड रुपैयाँ अनुमान गरिएको थियो । काठमाडौं महानगरपालिकाको पुर्ण आर्थिक सहयोगमा पुननिर्माण भैरहेको सो सम्पदाको लागि महानगरपालिकाले करिब साढे १० करोड रूपैयाँ उपलब्ध गराइसकेको छ ।
पुननिर्माणमा प्रयोग भएको प्रविधिबारे जानकारी दिँदै संयोजक एवं प्रदेश सांसद शाक्यले भने–‘हामीले सातौँ शताब्दीकै प्रविधि प्रयोग गरेका छौँ । माटो र त्यसबेला प्रयोग गरेका समाग्रीलाई प्रयोग पुननिर्माण गरेका छौँ । सातौँ शताब्दीमै प्रयोग गरिएको साइजको इट्टा प्रयोग गरेका छौँ, समितिले इट्टा निर्माण कम्पनीलाई विशेष आग्रह गरी सातौ शताब्दीकै साइजको इट्टा निर्माण गर्न लगाएको छौँ ।’

अहिले करिब ७५ प्रतिशत काम सकिएको र फागुन अन्तिमसम्म सम्पूर्ण काम सकिने बताइएकाे छ । उनले शहरी विकासमन्त्री श्रेष्ठको निरन्तर पहल कदमीको कारण पुननिर्माण गर्न सहज भएको बताए । काष्ठमण्डप पुननिर्माण गर्न करिब १३ हजार क्युफिट काठ लाग्ने अनुमान गरिएको छ । समितिले २०७५ वैशाख ३१ मा काम शुरु गरेको थियो । महानगरपालिका र समिति बीच जेठ २९ गते सम्झौता भएपनि पुननिर्माण शुरु भएको थियो ।
अवलोकन पछि बोल्दै मन्त्री श्रेष्ठले काठमाडौंवासीको सानको रुपमा रहेको यो सम्पदा समयमै सम्पन्न गर्न समितलाई आग्रह गरेका थिए । उनले भने–‘पुननिर्माण भैरहेको काष्ठमण्डप चार घेराको सय वटा थाम हुनेछन् । संकल्प पूजा गरेर गत माघमा ठड्याइएका २५ फिट अग्ला चारवटा मूल थाम पहिलो घेरा हो । दोस्रो घेरामा जोडाका दरले ३२ वटा थाम ठड्याइनेछ । तेस्रो र चौथो घेरामा एक-एक वटाका दरले क्रमशः २८ र ३६ वटा थाम राखिनेछ ।’
काष्ठमण्डपको पुननिर्माण गर्न ठुलो र सानो आकारको गरी २ लाख थान माःअप्पा इट्टा लाग्ने अनुमान गरिएको छ । ठुलो आकारको ९० हजार र सानो आकारको १ लाख १० हजार थान इट्टा आवश्यक पर्नेछ । अवलोकन कार्यक्रममा प्रदेश सांसद अजयक्रन्ति शाक्य , गौतम शाक्य लगायत समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।








