राजनीतिमा कोरोना: यी हुन् हार्ने र जित्नेहरु

  • सृष्टि नेपाल (द्वारिका)

काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) संक्रमण विश्वभर फैलिएको झण्डैँ एक वर्ष पुग्न लागिसकेको छ । संक्रमणको एक वर्ष पुग्नै लाग्दा पनि यसको न कुनै औषधि बनेको छ न त खोप नै ।

विश्वभर आजसम्म ४ करोड बढी मानिसहरु कोरोना संक्रमित भएका छन् भने १२ लाख बढीको मृत्यु भइसकेको छ । नेपालमा पनि हिजो (बिहीबार) सम्म संक्रमित संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ भने १ हजार ५२ जनाको मृत्यु भइसकेको छ । अहिले ३६ हजार ५१४ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणले चार करोड बढी जनसंख्यालाई भेटिसक्दा विश्वका शक्तिशाली नेताहरु समेत यसबाट अछुतो रहन सकेका छैनन् । पछिल्लो समय नेपालमा पनि संक्रमित दर बढेसँगै कलाकार, विशिष्ट व्यक्तित्व, राजनीतिज्ञ तथा नेता, मन्त्री एवम् सांसदहरुमा धमाधम संक्रमण पुष्टि भइरहेको छ ।

कसैमा काेराेनाले गम्भीर असर पुर्याएकाे छ भने काेही सामान्य लक्षण भाेगेर उपचारपछि केही दिनमै निकाे भएर फर्किएका छन् । हेराैँ काे-कहिले र कसरी निकाे भए, कसकाे अनुभव कस्ताे रह्याे:

यी हुन् कोरोना संक्रमित राजनीतिज्ञहरु 

– पर्यटनमन्त्री योगेश भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई गएको असोज २४ गते कोरोना संक्रमण पुष्टि भयो । उनले सामाजिक सञ्जाल फेसबुकबाट यसबारे जानकारी गराएका थिए । मन्त्री भट्टराईका अनुसार उनमा हल्का ज्वरो बाहेक अन्य समस्या देखिएको थिएन । अहिले उनी स्वस्थ भएर पुनः आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् ।

– भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई करिब १८ दिनअघि अर्थात् कात्तिक ३ मा कोरोना संक्रमण पुष्टि भएको थियो । सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि पीसीआर परीक्षण गराएका मन्त्री नेम्वाङ संक्रमण पुष्टि भएपछि मन्त्री क्वार्टरमै आइसोलेसनमा बसेका थिए । अहिले उनी पूर्ण रुपमा निको भइसकेका छन् ।

– शिक्षामन्त्री गिरिराजमणि पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि कोरोना संक्रमण अवधिबाट गुज्रिसकेका छन् । असोज २५ गते कोरोना संक्रमण पुष्टि भएका उनी केही दिनको अस्पताल बसाईँपछि अहिले स्वस्थ भएर नियमित क्रियाकलाप तथा भेटघाटमा फर्किसकेका छन् । २४ गते राति अकश्मात् ज्वरोले च्यापेपछि उनी पाटन अस्पताल भर्ना भएका थिए । त्यहाँ गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

–सांसद गगन थापा

नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई असोज १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । असोज १९ मा तोकिएको कांग्रेसको केन्द्रिय समितिको बैठकका लागि गरिएको पीसीआर परीक्षणका क्रममा सांसद थापामा संक्रमण पुष्टि भएको हो ।

सांसद थापाले आफू संक्रमित भएको सामाजिक सञ्जालमा जानकारी दिँदै लेखेका थिए– ‘असोज १५ गते पार्टी कार्यालयमा भएको पिसिआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ । मेरो स्वास्थ्य अवस्था सामान्य छ ।’ संक्रमणको लक्षण नदेखिए पनि पीसीआर पोजेटिभ आएपछि उनी होम आइसोलेसनमा बसेका थिए ।

– पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा

नेपालीहरुको महान् चाड विजया दशमी नजिकिँदै गर्दा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाका दम्पती नै कोरोना संक्रमित भए । बाँस्कोटा र उनकी श्रीमती तारा मानन्धरलाई कात्तिक ६ गते कोरोना पुष्टि भएको हो । लक्षण भने तारालाई मात्रै देखिएको थियो । अहिले मन्त्री बाँस्कोटा दम्पतीले कोरोनालाई जितिसकेका छन् ।

– कांग्रेस नेता अर्जुननरसिंह केसी

नेपाली कांग्रेस नेता अर्जुननरसिंह केसीलाई असोज १७ गते कोरोना पुष्टि भएको हो । पार्टी केन्द्रीय कार्यालयमा असोज १५ गते गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

रिपोर्ट पोजेटिभ आएलगतै होम आइसोलेसनमा बसेका उनी अहिले स्वस्थ भइसकेका छन् ।

– कांग्रेस महामन्त्री शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पनि कोरोना संक्रमणको नियति भोगिसकेका छन् । यद्यपी उनी लक्षणविनाका संक्रमितमा गनिन्छन् ।

महामन्त्री कोइरालामा गएको भदौ २३ गते संक्रमण पुष्टि भएको थियो । परिवारसहित लिइएको स्वाबमा उनको मात्रै रिपोर्ट पोजेटिभ आएको हो । अहिले उनी पनि निको भइसकेका छन् ।

– नेकपा सांसद निरुदेवी पाल

असोज २८ गते आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकी सत्तारुढ नेकपा सांसद निरुदेवी पाल कात्तिक ११ मा पूर्ण रुपमा संक्रमणमुक्त भएर फर्किइन् । उनी कोरोनाको गम्भीर बिरामीमा गनिन्छिन् ।

करिब १३ दिने अस्पताल बसाईँमा उनले रुघाखोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या सबै झेलिन् । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो । यद्यपी उनले हार भने मानिनन् ।

‘मलाई पनि कोरोनाले छोडेन, कसरी लाग्यो थाहा भएन । रुघाखोकी, हल्का ज्वरो, सास फेर्न गाह्रो र जिउ मर्ने गरी दुखेपछि स्वाब दिँदा पोजिटिभ देखियो । तर म यति छिट्टै हार खाँदिन म यति छिट्टै यो संसारबाट बिदा हुन्नँ । अझ धेरै काम गर्न बाँकी छ । बलात्कारीका लागी कडा कानुन बनाउन बाँकी नै छ ।’

सुरुमै आत्मबल बलियो बनाएकी उनले कोरोनालाई जितिन् पनि । संघीय संसदको महिला तथा सामाजिक समितिकी अध्यक्ष समेत रहेकी सांसद पालको काठमाडौंस्थित टिचिङ अस्पतालमा प्लाज्मा थेरापीबाट उपचार भएको थियो ।

छोराका जन्मदिनका लागि आफ्नो जन्मथलो कञ्चनपुर पुगेकी उनको जन्मदिनकै दिन साँझमा रिपोर्ट पोजेटिभ आएको थियो । ‘आईसीयू, भेन्टिलेटर तथा रेमडिसिभिर नपाएको भए शायद मलाई पनि बचाउन सक्नुहुन्थ्यो वा हुँदैनथ्यो’, उनले अनुभव सुनाएकी छिन् ।

कोरोनारूपी राक्षसलाई कसैले पनि सामान्य नठान्न समेत उनले अनुरोध गरेकी छिन् । ‘आफ्नो स्वास्थप्रति सजग हुनुहोला । सामाजिक दूरी कायम गर्दै सरकारले भनेका नियमहरू पालना गरौं । म जस्ता निमोनियाका दीर्घरोगीले त कोरोना जिते भने अरूले पनि सहजै जित्नुहुनेछ । तर हौसला चाहिँ राख्नुपर्दो रहेछ’, उनको सुझाव थियो ।

– पूर्वमन्त्री भगवती चौधरी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य, पूर्वमन्त्री एवम् महिला आर्थिक सशक्तिकरणकी अभियान्ता नेकपा नेतृ भगवती चौधरी अहिले कोरोना संक्रमणमुक्त भइसकेकी छिन् । उनमा असोज २९ गते संक्रमण पुष्टि भएको थियो ।

नेतृ चौधरीमा सुरुमा सामान्य खोकी तथा घाँटी दुख्ने समस्या देखिएको थियो भने पछि सामान्य ज्वरो समेत आएको थियो । नेपाल सरकारको स्वास्थ्य मापदण्ड अनुसार होम आइसोलेसनमै बसेर नेतृ चौधरीले कोरोनालाई जितेकी हुन् ।

उनले आफ्नो अनुभव सुनाउँदै भेनकी छिन्–‘म सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर दुई हप्ता घरमै बसेँ । उच्च मनोबलका साथ सामाजिक दुरी कायम गर्ने हो भने कोरोना भाइरसबाट बच्न सकिन्छ ।’

– नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी

नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई पनि कोरोनाले गम्भीर अवस्थामा पुर्याएको थियो । असोज १९ गते संक्रमण पुष्टि भएर उनी अहिले निको भइसकेकी छिन् । यद्यपी उनको खुट्टाको चोट भने निको हुने क्रममा छ ।

सचेतक चौधरीमा गएको वर्ष मात्रै दम र निमोनिया देखिएको थियो । उनलाई पहिलो चरणको क्यान्सर पनि भएको थियो । उनले सुनेकी थिइन्– ‘रोगी मान्छेलाई कोरोनाले झन् च्याप्छ ।’ भयो पनि त्यस्तै ।

सचेत रहँदा रहँदै पनि उनलाई कोरोनाले च्यापिहाल्यो । उनले आफ्नो अनुभवमा भनेकी छिन्–‘असोज तेस्रो साता मेरो आँखा र जिउ एकदम दुख्न थाल्यो । त्यो रातभरि ज्वरो आयो । नाप्दा त्यति देखिएन तर भित्रभित्रै पोलिरहेको थियो। एकदमै कमजोर अनुभव भइरहेको थियोे । शंका लाग्यो र भोलिपल्ट टेकुमा जँचाउन गएँ । रिपोर्ट पोजेटिभ आयो ।’

कोरोना संक्रमित भएपछि उनी वी अस्पतालमा भर्ना भइन् । अस्पताल गएको एक÷दुई दिनसम्म त ठिकै थियो । चौथो दिनमा भने उनलाई बेस्सरी च्याप्यो । श्वास फेर्न एकदमै असहज भएपछि अस्पतालले आईसीयूमा सार्यो, जहाँ उनले ८ दिन बिताइन् ।

कोरोनाले यतिसम्म गर्ला भनेर मैले सोचेकै थिइनन्– ‘बाँच्छु जस्तो पनि लागेन । म दीर्घरोग भएको मान्छे । मेरो सिटी भ्यालुपनि कमै थियो । तर, चिकित्सकको अथक प्रयास, सबैको माया आशीर्वादले आज मृत्युको मुखबाट फर्किएको महसुस गरेकी छु ।’

अस्पतालमै रहेका बेला बाफ लिने क्रममा तताएको पानी झरेर उनको खुट्टा पोल्यो । त्यसले झन् पीडामा पिडा थपिदियो । उनले छिट्टै निको भएर काममा फर्किने बताएकी छिन् । कोरोनाबाट भने उनी मुक्त भइसकेकी छिन् । ‘निको भइहाल्छु नि भनेर रत्तिभर असावधान हुनुहुँदैन । हेलचेक्र्याइँ गर्योँ भने यसले ठूलो क्षति गर्छ । हामी जति बढी सचेत भयौं, त्यति हानि कम हुन्छ’, उनको सुझाव छ ।

– कांग्रेस नेता मीन विश्वकर्मा

नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा अहिले भेन्टिलेटरमा छन् । उनीमा कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या आएपछि उनी वीर अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा थप जटिलता आएपछि उनलाई ग्रान्डी सारिएको थियो ।

विश्वकर्माको उपचारमा संलग्न एक चिकित्सले उनीमा अक्सिजनको कमी देखिएको बताएका थिए । कोभिड–१९ ले फोक्सोमा समेत असर देखाएको चिकित्सकको भनाइ थियो । उनी अहिले पनि अस्पतालमै छन्, उपचार जारी छ ।

नेकपा नेता जनार्दन शर्मा

करिब १२ दिनअघि कोरोना संक्रमित भएका सत्तारुढ नेकपाका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा अहिले निको भइसकेका छन् । शर्मासँगै उनकी पत्नी लक्ष्मी र भाइ अलिन शर्मालाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमा काेराेनाकाे सामान्य लक्षण मात्रै देखा परेको थियो ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई पनि कोरोना संक्रमण भएको छ । कात्तिक ७ गते गरिएको परीक्षणमा उनी र पत्नी हिसिला यामीमा संक्रमण पुष्टि भएको हो । रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बसेका भट्टराई दम्पती अहिले निको भइसकेका छन् ।

बागमती प्रदेश सांसद मुनु सिग्देल

बागमती प्रदेशसभाकी सदस्य मुनु सिग्देललाई असोज २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । नेपाल कम्युनिष्ट पार्टी मकवानपुरकी अध्यक्ष समेत रहेकी मुनुले ललितपुरको विथ ल्याबमा पीसीआर परीक्षण गराएकी थिइन् । उनीमा कोरोनाको सामान्य लक्षणमात्रै देखा परेको थियो । अहिले निको भइसकेकी छिन् ।

सिग्देल सांसद विरोध खतिवडाकी श्रीमती र पूर्व मिस नेपाल श्रृंखला खतिवडाकी आमा हुन्।

राजनीतिमा कोरोना : संक्रमणबाट ज्यान गुमाउनेहरु    

कोरोना संक्रमणबाट कांग्रेस बाराका महासमिति सदस्य मदन मण्डल, कैलालीको गौरीगंगा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको मृत्यु भएको छ । वडाध्यक्ष शाह नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा भदौमा मृत्यु भएको हो ।

यसैगरी कोरोना संक्रमित डोटीका कांग्रेस नेता तेजबहादुर पुनमगरको पनि संक्रमणबाटै मृत्यु भएको छ । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा कात्तिक ५ मा मृत्यु भएको हो । पुन नेपाली कांग्रेसका डोटीबाट महाधिवेशन प्रतिनिधिसहित नेपाल आदिवासी जनजाति संघ डोटीका अध्यक्षसमेत थिए ।

प्रतिक्रिया