हिमालयन बैंक र बैंक अफ काठमाण्डूले चीनमा जिते डेढ अर्बको मेलम्ची मुद्दा

काठमाडौं । हिमालयन बैंक र बैंक अफ काठमाण्डूले चीनमा करिब १ अर्ब ५० करोडको मुद्दा जितेका छन् ।
करिब ८ वर्षदेखि मेलम्ची खानेपानी परियोजनामा फसेको डेढ अर्ब रुपैयाँ चीनियाँ ठेकेदार कम्पनी चाइना रेल्वे १५ ब्यूरो कम्पनी मार्फत नेपाली बैंकले फिर्ता पाउने भएका हुन् ।

चीनको जिल्ला अदालतले बैंक अफ काठमाण्डू र हिमालयन बैंकलाई करिब १ अर्ब ५० करोड रुपैयाँ फिर्ता दिनु भनेर फैसला गरेको मुख कार्यकारी अधिकृत (सिइओ) शोभनदेव पन्तले जानकारी दिए ।

बैंक अफ काठमाण्डूले ६६.२५ लाख अमेरिकी डलर र १४.११ लाख यूरो तथा थप हर्जना फिर्ता पाउने छ। यो नेपाली रुपैयाँमा करिब ९० करोड हुन आउँछ । हिमालयन बैंकले पनि ६६ करोड फिर्ता पाउने छ । मेलम्ची परियोजनामा फसेको रकमका लागि मुद्दा लड्दै आएका दुई बैंकले सो मुद्दामा चीनको जिल्ला अदालतले करिब १ अर्ब ५० करोड रुपैयाँ नेपालका बैंकहरुलाई फिर्ता दिन आदेश दिएको हो ।

सुरुमा जिल्ला अदालत बेजिङमा नेपालका दुई बैंकले सो मुद्दा हारेका थिए । सो पछि अधिवक्ता गान्धी पण्डितले हेनान उच्च जन अदालतमा सो मुद्दामा पुनरावेदन दिएका थिए । पुनरावेदनले नेपालका दुई बैंकको पक्षमा फैसला भएको थियो ।

चाइना ब्यूरो रेलवे १५ र मेलम्ची बीचको ठेक्का तोडिएपछि मेलम्ची, बैंक अफ काठमाण्डू र हिमालयन बैंकको सम्झौता अनुसार मेलम्चीले दुई बैंकबाट करिब १.५० अर्ब रुपैयाँ क्लेम मागेको थियो । अधिवक्ता गान्धी पण्डितले नै मेलम्चीको तर्फबाट मुद्दा लडेर नेपालको अदालतबाट बैंक अफ काठमाण्डू र हिमालयन बैंकबाट उक्त रकम दिलाएका थिए ।

दुई बैंकले मुद्दा हारेर रकम तिर्नुपर्ने भएपछि उनै अधिवक्ता पण्डितलाई चाइना ब्यूरो रेलवे १५ विरुद्ध चीनमा गएर मुद्दा लड्न अगाडि सारेका थिए ।

 

प्रतिक्रिया