लेस्टर सिटिको लगातार तेस्रो जित, आर्सनल पनि विजयी

काठमाडौं । प्रिमियर लिग क्लब लेष्टर सिटीले युरोपा लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । समूह चरण अन्तर्गत गएराति भएको पोर्चुगिज क्लब ब्रागालाई ४-० ले पराजित गर्दै लेष्टरले लगातार तेस्रो जित निकालेको हो ।
घरेलु मैदानमा लेष्टरले २१औँ मिनेटमा केलिची इहिनाचोको गोलबाट अग्रता बनाएको थियो । खेलको ४८औँ मिनेटमा केलिचीले व्यक्तिगत दोस्रो गोल गर्दै लेष्टरलाई २-० को अग्रता दिलाए ।
खेलको ६७औँ मिनेटमा डेनिस प्राएटले गोल गर्दै लेष्टरलाई ३-० को अग्रता दिलाए । ७८औँ मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेष्टरलाई ४-० को जित दिलाए । जितसँगै लेष्टरले समूह चरणमा अपराजित यात्रा कायम राखेको छ । समूह ‘जी’ को लेष्टरले ३ खेलमा ९ अंक जोडेको छ । लेष्टर समूहको शीर्ष स्थानमा छ ।
समूह ‘बी’को खेलका प्रिमियर लिग क्लब आर्सनलले मोल्डेलाई ४-१ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन निकोलस पेपे जोय उलोकले एक-एक गोल गरे । दुई गोल आर्सनलले आत्मघाती उपहार पाएको थियो ।
मोल्डेका लागि मार्टिन इलङ्गेसनले एक गोल गरे । जितसँगै आर्सनलले समूह ‘बी’मा तीन खेलबाट ९ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा उभ्याएको छ । पराजित मोल्डे ६ अंकसहित दोस्रो स्थानमा छ ।








