टोटेनहम ३-१ ले विजयी, मिलानको लज्जास्पद हार

काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहम युरोपा लिगअन्तर्गत तेस्रो खेलमा जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले लुडोगोरेस्टमाथि ३-१ गोलको जित निकालेको हो ।
लुडोगोरेस्टको घरेलु मैदानमा भएको खेलमा टोटेनहमलाई जित दिलाउन ह्यारी केन, लुकास मोरा र गोविना केलासोले एक-एक गोल गरे । उता लुडोगोरेस्टका लागि कालुडी केसेरुले एक गोल गरे । जितसँगै टोटेनहमले समूह ‘जे’मा तीन खेलबाट ६ अंक जोडेको छ । टोटेनहम तालिकाको दोस्रो स्थानमा छ । पराजित लुडोगोरेस्ट तालिकाको पुछारमा छ ।
यस्तै समूह ‘एच’को खेलमा इटालियन क्लब एसी मिलानले पहिलो हार बेहोरेको छ । मिलानले घरेलु मैदानमै फ्रान्सेली प्रतिद्धन्द्धी लिलसँग ३-० को लज्जास्पद हार बेहोरेको हो ।
यससँगै मिलानको २९ खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यो हारले समूह ‘एच’ मा शीर्षस्थान गुमाउदा लिल शीर्षस्थामा फर्किएको छ । लिलको ३ खेलबाट ७ अंक पुगेको छ । मिलानको ६ अंक छ । स्पार्टा प्रागको ३ तथा सेल्टिकको १ अंक छ ।
यही समूहको अर्को खेलमा लुकास जुलिसको ह्याट्रिक सहयोयमा स्पार्टा प्रागले सेल्टिकलाई ४-१ ले हराएको छ । अर्को एक गोल लाडिस्लाभ त्रेजेसीले गरे । घरेलु टोलीका लेइज ग्रीफफिट्सले गरेको गोल सान्त्वना बन्यो ।








