पदाधिकारी बैठकमा विवाद समाधान नभएपछि काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

काठमाडौँ । शुक्रवारका लागि बोलाइएको काँग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । आज बसेको केन्द्रीय सदस्यसहितको पदाधिकारी बैठकमा विवाद समाधानबारे सहमति नभएपछि बैठक स्थगित गरिएको हो ।

बैठक कात्तिक २४ गतेसम्मका लागि स्थगित गरिएको पदाधिकारी बैठकमा सहभागी केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए । उक्त बैठक पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय कार्यालयमा दर्ता गरेको विरोध पत्रमा केन्द्रित रहने बताइएको छ ।

छलफलका क्रममा पार्टी सभापति शेरबहादुर देउवाले विभाग गठनबाहेकका अन्य विषयमा सहमति गरेर आफू अगाडि बढ्न तयार रहेको बताएका छन् । यस्तै उनले १४ औँ महाधिवेशनको मिति तय गर्न पनि आफू तयार रहेको बताएका छन् ।

सभापति देउवाले भने,“विभाग गठन भइसक्यो, साथीहरूलाई राखिसके । त्यो निर्णय फिर्ता हुन सक्दैन । बाँकी विषयमा मिलाएर गर्न सकिन्छ,  महाधिवेशनका नयाँ तिथिमिति पनि तपाईँ (पौडेल समूह)हुरेल भने अनुसार नै गर्न तयार छु ।”

काँग्रेस पदाधिकारी बैठक शुक्रवार पनि जारी रहने छ।

यसअघि गत सोमबार बसेको केही केन्द्रीय सदस्यसहित बसेको पदाधिकारी बैठक बिना निष्कर्ष टुङ्गिएको थियो । मङ्गलवार फेरि बस्न भनिएको पदाधिकारी बैठक प्रतिनिधिसभा सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा स्थगित भएको थियो ।

गत असोज १२ मा पौडेल समूहले सभापति शेरबहादुर देउवाले गरेका निर्णय विधान विपरीत रहेको भन्दै विरोध पत्र दर्ता गरेको थियो । काँग्रेसमा विभाग गठन, क्रियाशील सदस्यता वितरण, अन्य दलबाट आएका नेता कार्यकर्ताहरूको समायोजन, भ्रातृ संस्थाको पदावधिलगायतका विषयमा लामो समयदेखि रहँदै आएको छ।

प्रतिक्रिया