पीसीआर नगरी आइसोलेसनबाट सामान्य जीवनमा फर्किए मन्त्री कार्की

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की १४ दिन होम आइसोलेसनमा बसेर सामान्य जीवनमा फर्किएका छन् । कोरोना संक्रमण देखिएको १४ दिन पूरा भएको भन्दै उनी होम आइसोलेनबाट बाहिर आएका हुन् ।
सामान्य अवस्थाका संक्रमितले १४ दिन आइसोलेसनमा बसिसकेपछि पुनः परीक्षण आवश्यकक नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको राष्ट्रिय परीक्षण मार्गनिर्देशन र विज्ञको सल्लाह अनुसार मन्त्री कार्की होम आइसोलेसनबाट सामान्य अवस्थामा फर्किएको उनको सचिवालयले जनाएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मेडिसिन विभाग प्रमुख प्राडा सञ्जीव शर्माले सामान्य अवस्थाका संक्रमितले १४ दिन आइसोलेसनमा बसेपछि पुनः परीक्षण आवश्यक नपर्ने बताए । जटिल लक्षण नदेखिएका व्यक्तिले १४ दिनपछि अन्यलाई कोरोना भाइरस सार्ने सम्भावना नरहने उनले बताए ।
सामान्य अवस्थाका व्यक्तिले १४ दिनपछि पुनः परीक्षण नगर्दा हुने विश्व स्वास्थ्य संगठन र राष्ट्रिय परीक्षण प्रयोगशालाको मार्गनिर्देशनमा उल्लेख भएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा सुरेश मेहताले बताए ।
प्रदेश १ मा मन्त्रीबाट स्वतः संक्रमणमुक्त भएको जानकारी दिने सुरूवात राम्रो सन्देश भएको उनले बताए । सामाजिक विकास मन्त्रालयले संक्रमण देखिएको दुई सातापछि सामान्य अवस्थाका संक्रमितको स्वतः डिस्चार्ज गर्नेगरी छलफल अघि बढाएको पनि डा मेहताले बताए ।
मन्त्री कार्कीलाई कात्तिक ६ गते संक्रमण देखिएको थियो । संक्रमण देखिएपछि उनी होम आइसोलेसनमा बसेका थिए । उनको स्वास्थ्य अवस्था सामान्य छ ।









