कालीगण्डकी करीडोर सुख्खा पहिरो अपडेट : पाँच मजदुरको मृत्यु

काठमाडौं । कालीगण्डकी करिडोर सडक निर्माणका क्रममा पाँच जना मजदुरको पहिरोले पुरिएर बुधबार मृत्यु भएको छ। पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नम्बर ३ सखुवा भन्ने स्थानमा साँझ ५ बजे सुख्खा पहिरो खसेको हो।

पहिरोमा परी मृत्यु हुने सबै बुलिङटार वडा नम्बर ४ का रहेका छन्। मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, ४३ वर्षीय सुनबहादुर पुलामी, २० वर्षीय ताराबहादुर लुङ्गेली, २० वर्षीय चेतबहादुर अस्लामी र २९ वर्षीय तुलबहादुर सारु रहेको प्रहरीले जनाएको छ।

सडक निर्माणका क्रममा ७ जना मजदुरहरूले जालीमा ढुंगा भर्दै थिए। अकस्मात खसेको पहिरोमा परेका अन्य २ जनालाई भने प्रहरी र स्थानीयले उद्धार गरे पनि ५ जना पहिरोमा पुरिएका बुलिङटार गाउँ पालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिए ।

पूर्वी नवलपरासीको गैंडाकोटदेखी पाल्पाको राम्दीसम्म १ सय ३० किलोमिटर सडक निर्माण हुँदैछ।

प्रतिक्रिया