वीपी प्रतिष्ठानमा ९ वर्षीया बालिकासहित दुई संक्रमितको मृत्यु

काठमाडौं । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका क्रममा धरान उपमहानगरपालिकाका १ की ६१ वर्षीय महिला र इटहरी उपमहानगरपालिका ६ की ९ वर्षीया बालिकाको मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका १ की महिलामा ३० गते कोरोना पुष्टि भएको थियो । कोभिड अस्पतालमा ५ गते भर्ना भएकी थिइन् । उच्च रक्तचाप पीडित उनको आज बिहान ३ बजेर १५ मिनेट जाँदा मृत्यु भएको हो ।
त्यसैगरी, इटहरी उपमहानगरपालिकाकी ९ वर्षीय बालिकाको पनि आज साढे ३ बजे मृत्यु भएको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए । उनलाई १७ गते कोरोना पुष्टि भएको थियो भने मंगलबार मात्रै प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । मृतकको शवको नियमानुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।









