‘मुलुकको विकास र समृद्धिमा सरकारसँग हातेमालो गर्न हामीले उम्मेदवारी दिएका हाैँ’ (भिडियो सहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले मुलुकको विकास र समृद्धिमा सरकारसँग हातेमालो गर्न र नेपालमा औद्योगीक वातावारण निर्माण गर्न महासंघमा आफ्नो समूहले उम्मेदवारी दिएको बताएका छन् ।
मंगलबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित ढकालको प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । उमेदवारी दर्ताका क्रममा ढकालले औद्योगीक वातावारण निर्माण गरेर दशेको अर्थतन्त्रलाई अगाडी बढाउनु पर्ने पनि बताए ।

ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गरेका छन् । यस अघि पनि श्रेष्ठ वस्तुगत उपाध्यक्ष नै हुन् । यसैगरी महासंघको केन्द्रीय सदस्यमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकास अधिकारी, जय सिबाकोटी, सुबास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुबोध कुमार गुप्ता, सुमित केडिया, रबिन कुमार श्रेष्ठ, नरेश लाल श्रेष्ठले उम्मेद्वार दर्ता गराएका छन् ।
भिडियो
महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । यसभन्दा अघि नै हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोरोनाको कारणले रोकिएको थियो ।
गत वर्षको मंसिरमा गृह जिल्ला बागलुङ्गमा आयोजित बागलुङ्ग महोत्सवमा बागलुङ्ग उद्योग वाणिज्य संघले ढकाललाई महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवार प्रस्ताव गरेको थियो । पछि फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रममार्फत ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।
उम्मेदवारी दर्तापछि बोल्दै ढकालले कोरोना र अन्य विभिन्न कारणबाट उत्पन्न व्यवसायिक समस्या समाधान र मुलुकको आर्थिक समृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको बताए । जटिल परिस्थितिमा महासंघमा सशक्त र डाइनामिक नेतृत्वको आवश्यकता रहेको बताउँदै आफ्नो समूह मात्र अहिलेको समय र परिस्थिति अनुकूल नेतृत्व हुन सक्ने उनकाे दाबी छ ।

‘व्यवसाय र व्यवसायीलाई बचाउन, अहिलेको समस्याबाट मुलुकको समग्र अर्थतन्त्रलाई बचाउन र मुलुकको विकास र समृद्धिमा सरकारसँग हातेमालो गर्न हामीले उम्मेदवारी दिएका हाैँ,’ उनले भने ।
ढकालले मुलुकभरका व्यवसायिक सञ्जाल, साना देखि ठूला व्यवसायसम्मको अनुभव, व्यवसायी मित्रहरुसँगको सुमधुर सम्बन्ध र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्क नै आफ्नो जीतको मुख्य आधार भएको पनि बताएका छन् ।









