नेता प्रदीपकाे घर पुगेर माधव नेपालले भने- ओलीलाई सम्झाउनुस्

काठमाडौं । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति तथा संवाद हुन सकस परिरहेका बेला पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले नेता प्रदीप नेपालसँग भेटवार्ता गरेका छन् ।
पार्टीभित्र विवाद चर्किरहेका बेला उनीहरूबीचकाे भेटवार्तालाई विशेष रूपमा हेरिएकाे छ । हिजाे साँझ भएकाे भेटवार्तामा वरिष्ठ नेता नेपालले नेता प्रदीपसँग प्रधानमन्त्री ओलीलाई सम्झाउन भनेकाे कुरा बाहिरिएकाे छ । स्राेतका अनुसार नेता नेपालसँगको भेटमा प्रदिप नेपालले अध्यक्ष ओलीसँग मिलेर जान सुझाएका थिए । तर, नेता नेपालले ओली नै मिलेर जान नचाहेकाे भन्दै सम्झाउन भनेका हुन् ।
कर्णाली प्रदेशकाे विवादले अध्यक्षद्वयबीच फाटाे ल्याएकाे थियाे । पर्सा काण्डसम्म आइपुग्दा दुरी झनै बढिरहेकाे छ । पछिल्लाे समय दुई अध्यक्षबीच संवाद समेत नहुँदा पार्टी फुट्न लागेकाे समेत चर्चा चलिरहेकाे छ । प्रम ओलीले प्रचण्डसँग यसअघि पार्टी फुटाएरै अघि बढ्ने भनेकाे लगायतका कुराहरू पनि बाहिरिएका थिए । यद्यपी नेता/कार्यकर्ताबाट दुवै अध्यक्षलाई मिलाउने प्रयास भने जारी छ । नेकपाका दोस्रो तहका नेताहरु पनि पार्टी बचाउने पक्षमा छन् ।
अध्यक्षद्धयबीच वार्ता गराउन नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ लागि परेका छन् । नेम्वाङले आज बिहान प्रधानमन्त्री ओलीसँग भेटेका थिए भने लगत्तै अर्का अध्यक्ष दाहालसँग भेटवार्ता गरेका छन् । अध्यक्षद्धय ओली र दाहालबीच विवाद चर्किएलगत्तै प्रधानमन्त्री ओलीनिकट नेताहरु प्रदिप नेपालको घरमा पुगेका थिए ।
उक्त भेटमा प्रधानमन्त्रीनिकट नेताहरु शंकर पोखरेल, विष्णु रिमाल, डा. राजन भट्टराई, भानुभक्त ढकाल, सूर्य थापालगायत पुगेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले उक्त भेटलाई ‘राजनीतिक–शिष्टाचार’ भेटवार्ताको संज्ञा दिएका थिए ।
विवादकै बिच नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल र स्थायी समिति सदस्य भीम रावल छुट्टै छलफलमा जुटेका छन् । काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहको एक कोठामा दुई जना नेता छलफल गरेकाे स्राेतकाे भनाइ छ ।
पूर्व गृह तथा रक्षामन्त्री रावल वरिष्ठ नेता नेपालनिकट हुन् भने पाैडेल प्रधानमन्त्री ओलीनिकट मानिन्छन् ।








