कांग्रेसले तीन दिन पार्टीकाे झण्डा आधा झुकाउने, भाेलि देशैभरका कार्यालय बन्द

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीकाे निधनप्रति शाेक प्रस्ताव पारित गर्दै  बुधबार देशैभरका पार्टी कार्यालय बन्द गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज (मंगलबार) पार्टी कार्यालय ललितपुरमा बसेकाे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले साे निर्णय गरेकाे हाे । यस्तै कात्तिक १८, १९ र २० गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने पनि उक्त बैठकमा निर्णय भएकाे छ ।

यस्तै स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने पनि निर्णय भएकाे कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका आमन्त्रित सदस्य, प्रतिनिधि सभाका माननीय सदस्य एवं प्रतिष्ठित उद्योगपति सूर्यबहादुर केसीको कात्तिक १७ गते राति १० बजे पोखरा महानगरपालिका वडा नं. ७ मुस्ताङचोक स्थित आफ्नै निवासमा निधन भएकाे थियाे । उनले नेपालको उद्योग वाणिज्य तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकाे मुख्य सचिव पौडेलकाे भनाइ छ ।

केसी २०७४ को निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत पार्टीका तर्फबाट प्रनिनिधि सभा सदस्य भएका थिए । उनकाे निधनप्रति कांग्रेसले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकाे छ ।

प्रतिक्रिया