सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमणमा द्विपक्षीय रक्षा साझेदारीबारे छलफल हुनेछः भारतीय दूतावास

काठमाडाैं । भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवाणे भाेलिदेखि नेपाल भ्रमणमा आउन लागेका छन् ।
नेपालस्थित भारतीय दूतावासले उनकाे नेपाल भ्रमण दुई देशबीचको रक्षा साझेदारीलाई थप सुदृढ गर्नमा केन्द्रित हुने बताएको छ । नेपालस्थित भारतीय दूतावासले ट्वीट गर्दै यसबारे जानकारी दिएकाे हाे ।
भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले भनेका छन्- ‘भारतीय सेनाध्यक्ष नरवाणेकाे भ्रमणले लामो समयदेखि रहेको र पारम्परिक मित्रताको बन्धनलाई अझ प्रगाढ बनाउने छ । उहाँको भ्रमणले दुबै पक्षलाई द्विपक्षीय रक्षा साझेदारीमा छलफल गर्ने र आपसी फाइदाका लागि यसलाई अझ मजबुत बनाउनका लागि अवसरहरू खोजी गर्ने अवसर प्रदान गर्नेछ ।’
उनको भ्रमणका बेला नेपाली सेनाले नरवाणेलाई मानार्थ महारथीको उपाधि प्रदान गर्ने मुख्य कार्यक्रम रहेको छ ।नेपाल भारतबीच एक अर्काका सेनाध्यक्षलाई मानार्थ महारथीको उपाधी प्रदान गर्ने प्रचलन छ । नेपालमा यसकाे विराेध पनि भइरहेकाे छ ।
अर्काेतर्फ नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरी आफ्नाे राजनीतिक नक्सामा समेटेपछि नेपालले त्यसको विरोध गर्दै वार्ताका लागि गरेकाे पहल भारतले अस्वीकार गरिरहेका बेला नरावणेकाे भ्रमण विशेष रूपमा हेरिएकाे छ । नरावणेको भ्रमणका क्रममा नेपाली पक्षसँगको वार्ता सकारात्मक भए भारत परराष्ट्र सचिवस्तरको छलफलका लागि तयार हुन सक्ने भारतीय सञ्चार माध्यहरूले उल्लेख गरेका छन् ।









